गृहपृष्ठ विश्वकप क्रिकेट : श्रीलंकाविरूद्ध भारत ७ विकेटले विजयी
विश्वकप क्रिकेट : श्रीलंकाविरूद्ध भारत ७ विकेटले विजयी
ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको छ । श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन् । एकै विश्वकपमा ५ शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन् । त्यस्तै रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् । आठ खेलमा रोहितले ६ सय ४७ रन प्रहार गरे । भारतका लागि रोहित र राहुलले पहिलो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । राहुलले ११८ बलमा १११ रन जोडे । बलिङतर्फ लसिथ मालिंगा, कासुन रजिथा र इसुरु उडानाले एक–एक विकेट लिए ।
यसअघि, लिड्सको हिडिङले मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो मेथ्युजको शतकमा निर्धारित ओभरमा ७ विकेट गुमाएर २६४ रनको योगफल बनाएको थियो । अन्तिम चारमा पर्न असफल भइसकेको श्रीलंकाका लागि म्याथ्युजले ११३ रन बनाए भने थिरमानेले ५३ रन जोडे । भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे ।
प्रकाशित समय ०६:३९ बजे

















