गृहपृष्ठ देशभर आज दिनभर भारी वर्षा हुने, पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध
देशभर आज दिनभर भारी वर्षा हुने, पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध
देशका अधिकांश भू–भागमा शुक्रबार पनि भारी वर्षा हुने भएको छ ।
मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण अधिकांश स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । यस्तै पूर्व र मध्य क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बनाउने महाशाखाले जनाएको छ । सोही काल्पनिक रेखा अहिले मध्य तथा पूर्वी भागमा बनेको महाशाखाको भनाइ छ । देशभर बिहीबारदेखि लगातार पानी परिरहेको छ । यो क्रम अझै केही दिनसम्म जारी रहने महाशाखाले जनाएको छ । पानीसँगै हावाहुरी पनि चल्ने महाशाखाले जनाएको छ । बिहीबार साँझ पनि हावाहुरीसहित वर्षा भएको थियो ।
अविरल वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध भइसकेको छ । नारायणगढ–मुग्लिन खण्डमा गएराति १० बजेतिर खसेको पहिरोले एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको छ । रोशी गाउँपालिकास्थि बीपी राजमार्गमा पहिरो झर्दा सडक अवरुद्ध भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
यस्तै, सिद्धार्थ राजमार्गको बुटवलबाट–पाल्पा खण्डमा खसेको पहिरोले बिहीबारदेखि अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । लम्जुङदेखि मनाङ र भोजपुर–धरान सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको बताइएको छ ।
नदीहरुमा जलको वहाव बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । बागमती नदीमा पानीको स्तर खतराको तहमा पुगिसकेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका नदी छेउछाउका स्थानीयलाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध गरेको छ ।
कोशी, कमलालगायतका नदीमा पनि पानिको वहाव अत्याधिक मात्रामा वृद्धि भएको छ ।
प्रकाशित समय ०८:२८ बजे

















