गृहपृष्ठ भोलिदेखि ट्राफिकले जरिवानाको पैसा बुझ्दैन
भोलिदेखि ट्राफिकले जरिवानाको पैसा बुझ्दैन
फाइल तस्बिर
साउन १ देखि ट्राफिक प्रहरीले जरिवानाबापतको पैसा नबुझ्ने भएको छ । ट्राफिक नियमको उल्लघंन गरेबापतको जरिवाना सिधै बैंक दाखिला गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिबहादुर बिसीले जानकारी दिए ।
मंगलबार पत्रकार सम्मेलन गरी कार्यालयले यो जानकारी गराएको हो । ट्राफिकले पैसा असुल्छ भन्ने आमसर्वसाधारणको आरोपबाट बच्न बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । ‘जुन ठाउँमा ट्राफिक नियम उल्लंघन हुन्छ, त्यहाँबाट एउटा रसिद दिइन्छ । र कागजपत्र जफत गरिन्छ । ट्राफिक नियमको उल्लंघन गरेबापतको जरिवाना बैंकमा जम्मा गरेर रसिद देखाएपछि मात्रै कागजपत्र फिर्ता दिइन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकमा जरिवानाबापतको रकम जम्मा गर्न कोस तथा लेखा नियन्त्रण कार्यालयले कोड नम्बर दिने तयारी गरेको छ ।
‘भोलि १० बजेसम्म उक्त कोड नम्बर उपलब्ध गराइसक्ने प्रतिबद्धता कोलेनिकाले जनाएको छ,’ बिसीले भने, ‘अब ट्राफिकले पैसा बुझ्दैन, जसले गर्दा आर्थिक पारदर्शिता हुन्छ ।’ उनका अनुसार २४ घण्टे बैंक दाखिला कार्यक्रम भए पनि भौगोलिक विकटताका कारण तीन दिनभित्र सवारी धनीले बैंक दाखिला भौचर बुझाएर आफ्नो कागजपत्र लैजान सक्नेछन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले समेत यसअघि प्रदेशका १० वटै जिल्लामा यो कार्यक्रम लागू गर्ने गरी निर्देशन दिइसकेको छ । सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी भएका कारण पनि यो प्रदेश प्रहरी कार्यालयको निर्देशनलाई तत्काल कार्यान्वयनमा लैजान लागिएको बासीले बताए ।
सुर्खेतमा जनशक्ति अभावका कारण पनि दुर्घटना न्यूनीकरणमा कमी भएको उनले बताए । ट्राफिक प्रमुख बिसीका अनुसार आवश्यक जनशक्ति करिब ७० जना भए पनि हाल २४ जनाको मात्रै दरबन्दी छ । जनशक्तिको अभावमा पनि आफूहरुले सुरक्षाका लागि काम गर्दै आएको उनले बताए ।
केही महिनाअगाडि मात्रै घोषणा गरिएको हर्न निषेध क्षेत्रलगायतका नियम विस्तारै लागू हुने क्रममा भएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार गत वर्ष ३५ जनाको सवारी दुर्घटनाको कारण मृत्यु भएको थियो भने यो वर्ष २९ जनाको मृत्यु भएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७५÷७६ मा कार्यालयले राजस्वमात्रै १ करोड ६४ लाख ५८ हजार ५ सय रुपैयाँ असुल गरेको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा भने ८७ लाख ८९ हजार राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित समय १९:४१ बजे

















