गृहपृष्ठ नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको अगुवाइमा ७ बैंकको ८ अर्ब लगानी

नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको अगुवाइमा ७ बैंकको ८ अर्ब लगानी

Nupche-Likhu-newskarobar

रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ७ बैंकले ८ अर्ब लगानी गर्ने भएका हुन् ।

भिजन इनर्जी एन्ड पावर लिमिटेडले अघि बढाएको आयोजनामा माछापुच्छ्रेसहित हिमालयन, एनसिसी, कृषि विकास, कुमारी, सिटिजन्स इन्टरनेसनल र कामना विकास बैंकले लगानी प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले पनि लगानी गर्ने कम्पनीले जनाएको छ ।

१० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा (३८ करोड १० लाख युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटमा आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । हिउँ पग्लेर बगेको पानी नै नुप्चे र लिखु खोलाको मुख्य वहाबको स्रोत हो । लिखु र नुप्चे खोलाको पानी एकै ठाउँमा मिसाएर आयोजना निर्माण गर्ने गरी अध्ययन गरिएको छ । नुप्चे खोलातर्फ १ हजार ६७३ र लिखुतर्फ १ हजार ४२४ मिटर सुरुङ निर्माण गरी एकै ठाउँमा पानी मिसाइने आयोजनाले जनाएको छ ।

आयोजनास्थल नाजुक तथा जोखिमयुक्त जैविक वातावरणभन्दा बाहिर रहेको अध्ययनले देखाएको छ । उत्पादित विद्युत आयोजनाको विद्युत गृहबाट २४ किलोमिटर टाढा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी डबल सर्किट गर्ज्याङ सबस्टेसनमा जोडिनेछ । २४ किलोमिटर प्रसारणलाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिमेगावाट लागत १८ करोड ३८ लाख रुपैयाँ अनुमान गरिएको आयोजना २०८० भदौ २ गते निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विद्युत उत्पादन भएपछि ८ वर्षसम्म आयोजनाबाट वार्षिक २ अर्ब ६० करोड रुपैयाँ आम्दानी हुने र ८ वर्षपछि आयोजना अवधिभर वार्षिक २ अर्ब ९५ करोड रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु