गृहपृष्ठ बालुवा उत्खननको ठेक्का रोक्न माझी समुदायको माग
बालुवा उत्खननको ठेक्का रोक्न माझी समुदायको माग
सांकेतिक तस्बिर
काभ्रेपलाञ्चोकको भुम्लुका माझी समुदायले गाउँपालिकाले बोलपत्र आह्वान गरी नदीको बालुवा उत्खनन दिँदा आफूहरुको पेसा नै संकटमा परेको भन्दै सो बोलपत्र रद्द गर्न माग गरेका छन् ।
गाउँपालिका प्रमुख गुमानध्जव कुँवरलाई ज्ञापनपत्र बुझाउँदै त्यहाँका माझी समुदायले ठेक्का रद्द गर्नुपर्ने माग गरेका हुन् । पालिकाले बोलपत्र आह्वान गरेपछि आदिवासी जनजातिअन्तर्गत अति सीमान्तकृत माझी समुदाय आन्दोलित भएका छन् ।
माझी इम्पावरमेन्ट युथ एसोसिएसन नेपाल काभ्रेका अध्यक्ष होमराज माझीले नदीको बालुवा उत्खनन गरेपछि आफ्नो समुदायको रोजगारीमा संकट आएका कारण आन्दोलित हुनुपरेको बताए । “हामीले पहिलोचोटि र्यालीसहित गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलाई ज्ञापनपत्र बुझाएका छौँ,” उनले भने, “सो ज्ञापनपत्रलाई बेवास्ता गरिएमा संघर्षमा जान बाध्य हुनेछौँ ।”
भुम्लु गाउँपालिका–८ का स्थानीय बासिन्दा लालुमाया माझीले आफूले सुनकोसी नदीमा बालुवा निकाली चालेर बेच्दै आफ्नो परिवार धान्दै आएको बताउने उनले पछिल्लो समय गाउँपालिकाले बगर ठेक्कामा दिएपछि आफूहरूले बालुवा निकाल्न नपाएको बताए ।
उनीहरुले पुर्ख्यौली पेसा लोप भएपछि वैकल्पिक पेसाका रुपमा अपनाएको बालुवा निकाली बेच्ने कामसमेत मेसिन लगाएर निकाल्न थालेपछि जिउनसमेत गाह्रो भएकाले ज्ञापनपत्र बुझाएर गाउँपालिकालाई ध्यानाकर्षण गराएको एसोसिएसनका अध्यक्ष जीवनकुश माझीले बताए । संविधानमा उल्लेखित प्राकृतिक स्रोतको पहिलो अधिकार स्थानीयको हुने व्यवस्थालाई लागू गर्नको लागि माग गरेको बताउँदै उनले आफूहरु देशको कानुन विरोधी नभएको तर बोलपत्र आह्वान गर्दा त्यो ठेक्का आफूहरुलाई दिनुपर्ने माग गरेको उल्लेख गरे ।
पछिल्लो समयमा पुर्ख्यौली पेसा त लोप भइसक्यो, नदीमा माछा मारेर र डुंगा चलाएर खाने काम पुलपुलेसा निर्माणपश्चात लोप भइसकेपछि बगरमा बालुवा निकाल्ने, गिट्टी कुटेर आफ्नो परिवार धान्दै आएका माझी परिवार गाउँपालिकाले बोलपत्र प्रक्रियामार्फत ठेकेदारलाई सुम्पिने काम भएपछि त्यो पेसा पनि संकटमा परेको उनीहरुको भनाइ छ ।
गाउँपालिका अध्यक्ष कुँवरले माझी समुदायले बुझाएको ज्ञापनपत्र कार्यपालिकाको बैठकबाट निर्णय गरिने बताए । प्रकाशित बोलपत्रको सूचना रद्द नहुने पनि कुँवरको भनाइ छ ।
भुम्लु गाउँपालिकाले २०७६/७७ को लागि पनि बोलपत्रको सूचना आह्वान गरिसकेको छ । भुम्लु गाउँपालिका वडा नं १, ६, ७, ८ र १० मा गरी एक हजारभन्दा बढी घरधुरी माझी समुदायको बसोबास रहेको छ । (रासस)
प्रकाशित समय १५:०५ बजे
















