गृहपृष्ठ सगरमाथामा अवैध स्की खेल्ने दुई अमेरिकीलाई कारबाही

सगरमाथामा अवैध स्की खेल्ने दुई अमेरिकीलाई कारबाही

काठमाडौं– सगरमाथा आरोहणका क्रममा अवैधरुपमा स्की खेलेको भन्दै सगरमाथा आरोही गुइलेरमो वेनेसस र माथेअ मोनिजलाई पर्यटन विभागले कारबाही गरेको छ । अनुमतिबिना क्याम्प ३ देखि २ सम्म स्की खेल्ने अमेरिकी आरोहीलाई १० हजार रुपैयाँ नगद जरिवाना गरिएको हो । उनीहरुबाट जनही एक हजार अमेरिकी डलर स्की शुल्कसमेत असुल गरिएको विभागले जनाएको छ ।

आरोहणको क्रममा अवैधरुपमा स्की खेल्ने अमेरिकीलाई सहयोग गर्ने आरोहण दल पठाउने कम्पनी हाइअल्टिच्युट ड्रिम प्रालिलाई विभागले ५० हजार नगद जरिवाना गरेको छ । विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाका अनुसार आरोहण दलका सम्पर्क अधिकृत प्रतिलिपि रजिस्टार कार्यालयका नायब सुब्बा दीपक दाहाललाई विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयमा पत्रचार गरिएको छ ।

अबैध रुपमा स्की खेल्ने सामग्रीसहित हिमाल आरोहणका लागि आधार शिविर पुगेका उनीहरुलाई राज्यका निकायले रोक्ने पहल गरेनन् । त्यहाँबाट क्याम्प ३ सम्म पुग्दा पनि सम्पर्क अधिकृत, आरोहण दलका सरदार लोप्साङ शेर्पा र एजेन्सीले समेत विभागलाई जानकारी नदिएकाले कारबाही गरिएको जनाइएको छ ।

अवैध स्की खेल्ने गुइलेरमो वेनेसस र माथेअ मोनिजलाई विभागले सगरमाथा आरोहण गरे पनि प्रमाणपत्र नदिने निर्णय गरेको छ । यसअघि पनि सगरमाथा आरोहण गरेको नक्कली कागजात पेस गर्ने भारतीय दम्पती दिनेश राथोड र ताराकेश्वरी राथोडलाई विभागले १० वर्ष नेपाल प्रवेशमा रोक लगाएको थियो ।

(तस्बिर गुगल)

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु