गृहपृष्ठ सामाजिक न्याय र समानताका लागि सघर्ष अझै जारी छ : उपप्रधानन्त्री यादव

सामाजिक न्याय र समानताका लागि सघर्ष अझै जारी छ : उपप्रधानन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देश संघीयतामा गए पनि भ्रष्टाचार भने अन्त्य हुन नसकेको बताएका छन् । विभेद अन्त्य, सामाजिक न्याय र समानताका लागि अहिले पनि संघर्ष जारी रहेको उनको भनाइ थियो ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनकपुरधाममा बिहीबार आयोजना गरेको शुभ दीपावली तथा छठ पर्व २०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले समाजमा विभेद र असमानता अन्त्य नभएसम्म आर्थिक समृद्धि र सामाजिक परिवर्तनको अनुभूति हुन नसक्ने बताए ।

आर्थिक विकास र सुशासनलाई पहिलो प्राथमिकता बनाए मात्रै विकास र समृद्धिले गति लिने बताए । उनले जाति, लिङ्ग, रङ र आर्थिक आधारमा अझै पनि भइरहको अन्त्य गर्नेतर्फ सबैको ध्यान जानु आवश्यक रहेको यादवले औंल्याए । समाजवादी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले अल्पविकसित देशहरुको प्रमुख मुद्दा विकास नै रहेको बताउँदै आर्थिक विकास र सामाजिक सांस्कृतिक विकास गर्न जरुरी रहेको धारणा राखे । प्रदेश २ को नामकरणमा ढिलाई भएकोतर्फ संकेत गर्दै उनले ‘अझै पनि प्रदेशको नाम २ नम्बर नै भन्नु पर्ने ?’ भनी प्रश्न गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यस्ता चाडपर्वले समाजमा रहेका खराब आचरणलाई सुधार गर्ने र नयाँ सकल्प लिएर देश र प्रदेशलाई विकासको दिशामा अगाडि बढाउन अग्रसर हुनुपर्ने बताए ।

राजपा अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारीले सकारात्मक सोचका साथ अगाडि बढ्न प्रदेश २ का राजनीतिक दलहरुलाई आग्रह गरे । उनले मुलुकलाई सही दिशामा ल्याउन नसकेको खण्डमा निकट भविष्यमै मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरा रहेको बताए । उनले संविधानको संशोधनविना राजनीतिक मुद्दा समाप्त नहुने भन्दै यी मुद्दाहरुलाई समाप्त गरी मुलुकलाई विकासको गतिमा अघि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा प्रदेश नं. २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ को जनतामा प्रदेश सरकारप्रति व्याप्त असन्तुष्टिहरु रहेको भन्दै जनताको असन्तुष्टि समाप्त गर्न प्रदेश सरकारले सफल होऊन् भन्दै शुभकामना व्यक्त गरे । नेपाली काग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि रहेर प्रदेशको समृद्धितर्फ हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, समाजवादी पार्टीका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रतिनिधीसभा सदस्यद्वय रेणु यादव, प्रमोदकुमार साह, प्रदेश २ का मन्त्रीहरु तथा स्थानीय बुद्धिजिवी, उद्योगी व्यवसायीहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु