गृहपृष्ठ नेपाल पढेका डाक्टर भारतमा पास हुनेमा तेस्रो
नेपाल पढेका डाक्टर भारतमा पास हुनेमा तेस्रो
अन्य देशभन्दा शुल्क सस्तो र जानआउन सजिलो भएका कारण विगत केही वर्षदेखि भारतीय विद्यार्थीहरूका लागि नेपालमा एमबीबीएस, एमडीसहितका डाक्टरी कोर्ष अध्ययनको आकर्षण बढेको छ ।
धरानमा भारतीय सहयोगमै बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको मणिपाल मेडिकल कलेजसहितका केही मेडिकल कलेजहरूमा त भारतीय विद्यार्थीहरूकै चाप बढी हुने गरेको छ ।
नेपालमा पढेकामध्ये करिब १८ प्रतिशतमात्रै भारतीय डाक्टरहरू त्यहाँका एक परीक्षामा पास भएका छन् ।यद्यपि, नेपालमा पढेका डाक्टरी विद्यार्थीहरूको पास दर चीन, रुस, काजिकिस्तान, कीर्गिस्तान र युक्रेनमा पढेर आएकाभन्दा बढी हो ।
भारतमा लाइसेन्स प्राक्टिसका लागि लिइने ‘फरेन मेडिकल ग्य्राजुएटस् इक्जामिनेसन (एफएमजीई)मा सबैभन्दा बढी मरिसस र त्यसपछि बंगलादेशमा पढेर आएका विद्यार्थी पास भएका छन् भने तेस्रो स्थानमा नेपाल पढेर गएका विद्यार्थी परेका छन् ।
मरिससमा पढेकामध्ये ५२ प्रतिशत, बंगलादेशमा पढेकामध्ये २७ दशमलव ११ प्रतिशत र नेपालमा पढेकामध्ये १७ दशमलव ८६ प्रतिशत विद्यार्थी पास भएका हुन् ।
चीनमा अध्ययनका लागि २० लाख भारु (औसत ३२ लाख नेपाली)सम्म भए पुग्ने भएका कारण भारतीयसहित नेपाली विद्यार्थीहरूका लागि त्यहाँका केही युनिभर्सिटीहरू आकर्षणका केन्द्र बनेका छन् । तर, नेपालको मेडिकल काउन्सिलसहित भारतीय एफएफजीई परीक्षामा चिनियाँ मेडिकल कजेजमा पढेका विद्यार्थी अधिकांश फेल हुने गरेका छन् ।
बंगलादेशमा पाँच वर्षे एमबीबीएस तह अध्यनका लागि औसतमा ३० लाख भारु (करिब ४८ लाख नेपाली) लाग्ने गरेकोका मरिससमा ४० लाख (करिब ६४ लाख नेपाली) र नेपालमा सोही अवधिको कोर्ष अध्ययनका लागि ३० देखि ५० लाख भारु (करिब ४८ लाखदेखि ८० लाख नेपाली)सम्म लाग्ने गरेको द इन्डियन एक्सप्रेसले लेखेको छ ।
नेपालमा डाक्टरी पढेका ५ हजार ८९४ विद्यार्थीले एफएमजीई परीक्षा दिएकामा १ हजार ४२ जना पास भएका थिए ।
भारतीय नीति आयोगका सदस्य डा. विनोद पौलले अब भारतीय अभिभावकहरूले चीन, रुस, युक्रेनजस्ता देशमा मेडिकल पढ्न पठाउनुपूर्व सोच्नु पर्ने बताएका छन् ।
यसले आउँदा दिनहरूमा नेपालमा अझ बढी भारतीय विद्यार्थी अध्ययनका लागि आउने सम्भावना बढाएको छ ।
प्रकाशित समय १२:५१ बजे

















