गृहपृष्ठ नेपालमा २१ हजार शरणार्थी
नेपालमा २१ हजार शरणार्थी
रोहिंग्याको छैन विवरण
नेपालमा औपचारिक रूपमा दर्ता भएका शरणार्थीको संख्या २० हजार ८०० रहेको संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर)ले जनाएको छ ।
नेपालमा रहेका १ लाख भुटानी शरणार्थीहरूमध्ये ९० प्रतिशत अमेरिकासहित तेस्रो देशमा पुनर्स्थापित गरिएपछि नेपालमा भएका शरणार्थीको संख्या घटेको हो ।
सन् २०१८ को अन्त्यमा नेपालमा रहेका २० हजार ८०० शरणार्थीमध्ये ६४ प्रतिशत अर्थात् १३ हजार ३ सय तिब्बती शरणार्थी रहेको र ३१ प्रतिशत अर्थात् ६ हजार ५ सय भुटानी शरणार्थी रहेका यूएनएचसीआरले जनाएको छ ।
यीबाहेक नेपालमा शरण खोजिरहेकाहरू ५५ जना र ‘अन्य चासो’का ५७९ जना रहेको जनाइएको छ । सन् २०१८मा ९८७ जना भुटानी शरणार्थीहरू तेस्रो देशमा पुनर्स्थापित गरेपछि उनीहरूको संख्या घटेको हो ।
सन् २०१६ मा नेपालमा २५ हजार २४९ शरणार्थीहरू रहेका थिए भने ७२ जना शरण खोज्नेहरू थिए । यस्तै ८४९ जना ‘अन्य चासो’का शरणर्थी थिए ।
यूएनएचसीआरबाट सहयोग पाउने शरणार्थीहरूको संख्या उक्त वर्ष १० हजार ९७४ थियो ।
सात सयजति ‘शहरी शरणार्थी’
यूएनएनसीआरबाट यसअघि १० देशका झन्डै ७०० ‘शहरी शरणार्थी’ (अर्बान रेफ्युजी)ले सहयोग पाउँदै आएकोमा अहिले त्यो सहयोग रोकिएपछि ती शरणार्थीहरू काठमाडौंमा काम गर्न थालेका छन् ।
यस्ता शरणार्थीहरू सोमालिया, युगान्डा, कंगो, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तार, म्यानमारलगायतका देशबाट आएका हुन् ।
म्यानमारमा दंगा फैलिएपछि त्यहाँबाट करिब ५ सयजति रोहिंग्या शरणार्थी भित्रिएर राजधानीको कपनलगायतका स्थानमा शिविर नै बनाएर बसे पनि यूएनएसीआरको विवरणमा उनीहरूलाई देखाइएको छैन ।
यूएनएचसीआर नेपालको बजेट घट्यो
यसैबीच यूएनएचसीआरको नेपाल सञ्चालनका लागि प्राप्त हुने बजेट घटेर ५० लाख अमेरिकी डलरमा सीमित भएको छ । यूएनएचसीआर हाइ कमिस्नरबाट हालै नेपालका लागि बजेट स्वीकृत गरिएको हो ।
नेपालमा भुटानी शरणार्थीहरूको पुनर्बास योजना सुरु भएयता सन् २०१५ देखि नै यूएनएसीआर नेपालका बजेट हरेक वर्ष कटौती गर्न थालिएको हो । यो वर्ष स्वीकृत बजेट पनि सन् २०१८भन्दा १० लाख डलर कम हो ।
प्रकाशित समय १५:०४ बजे

















