गृहपृष्ठ गत वर्षभन्दा चार दिनअघि मनसुन प्रवेश, एक सातामै मुलुकभर फैलने
गत वर्षभन्दा चार दिनअघि मनसुन प्रवेश, एक सातामै मुलुकभर फैलने
काठमाडौं– यो वर्ष गत वर्षभन्दा चार दिनअघि नै नेपालमा मनसुन प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले महाशाखाका अनुसार शुक्रबार अपराह्नदेखि नेपालको पूर्वीभेगबाट मनसुन प्रवेश गरेको हो ।
पूर्वीनेपालबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतर्फ सर्ने क्रममा रहेको जनाएको छ । नेपालमा औसत रूपमा जुन १० मा मनसुन भित्रने गरेको छ । गत वर्ष जुन १२ मा मात्र मनसुन सुरु भएकोमा यस वर्ष जुन ८ मै मनसुन प्रवेश गरेको मौसमविद बरुण पौडेलले जानकारी दिए । उनका अनुसार मनसुन केही दिन भित्रै नेपालभर फैलिने छ ।
नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८ सय ५ मिलिमिटर वर्षा हुने गर्दछ । यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ मिलिमिटरसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ ।
भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा सुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसकोे प्रभाव नेपालमा छिट्टै देखिएको हो । भारतको केरलामा जुन १ मा मनसुन भित्रिने गरेकोमा यस वर्ष २७ मे मा नै मनसुन भित्रिएको थियो । मौसमविद् पौडलका अनुसार हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिन्छ । त्यसपछि क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेग ताप्लेजुङ विन्दुबाट नेपालमा मनसुन भित्रिन्छ ।
सन २००८ मा १० जुनमा भित्रिएको मनसुन १७ अक्टोबारमा बाहिरीएको थियो भने सन २००९ मा करिव दुई साता ढिलो गरिी २३ जुनमा सुरु भएको मनसुन १५ अक्टोबरमा बाहिरिएको थियो । यस्तै सन २०१० मा १७ जुनमा नेपाल प्रवेश गरेको मनसुन १ अक्टोबरमा बाहिरिएको थियो । सन २०११ मा १५ जुनमा प्रवेश गरेको मनसुन ७ अक्टोबरमा नेपालबाट बाहिरिएको थियो । यस्तै सन २०१२ मा १६ जुनमा प्रवेश गरेको मनसुन औसतभन्दा एक महिना ढिलो गरी २८ अक्टोबरमा बाहिरिएको थियो ।
यसैगरी नेपालमा सन २०१३ मा १४ जुनमा भित्रिएको मनसुन १९ अक्टोबरमा बाहिरिएको थियो भने सन २०१४ मा २० जुनमा नेपाल प्रवेश गरेको मनसु ७ अक्टोबरमा बाहिरिएको थियो । यस्तै गरी सन २०१५ मा १३ जुनमा नेपाल प्रवेश गरेको मनसुन ३ अक्टोबरमा बाहिरिएको थियो । यसैगरी सन २०१६ मा १५ जुनमा प्रवेश गरेको मनसुन १२ अक्टोबरमा बाहिरिएको थियो । यस्तै गत वर्ष १२ जुनमा नेपाल प्रवेश गरेको मनसुन १६ अक्टोबरमा बाहिरिएको थियो । औसतरुपमा नेपालबाट २३ सेप्टेम्बरमा मनसुन बाहिरिने गरेपनि पछिल्लो वर्षहरुमा मनसुन धेरै पछिसम्म सक्रिय हुने गरेको थियो ।
प्रकाशित समय ११:०० बजे

















