गृहपृष्ठ सरकारको खर्च पाँच वर्षकै न्यून तहमा

सरकारको खर्च पाँच वर्षकै न्यून तहमा

Government expenditure_NewsKarobar

सरकारले कार्यक्षमता बढाउन नसक्दा राजस्व संकलन र खर्च स्थिति विगत पाँच वर्षकै न्यून स्तरमा पुगेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक पहिलो तीन महिनाको आर्थिक स्थिति विवरणअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनामा सरकारी खर्चको वृद्धिदर ० दशमलव ८० प्रतिशतमात्र छ । यो हालसम्मकै न्यून खर्च वृद्धिदर हो ।

राष्ट्र बैंकले पहिलो तीन महिनामा नगदमा आधारित खर्च भएको चालू र पुँजीगत खर्चको विवरण भने सार्वजनिक नगरी लुकाएको छ । राष्ट्र बैंकले तीन महिनाको समग्र खर्चमात्र देखाएको छ भने अघिल्लो वर्षको समान अवधिका तुलनामा कति प्रतिशतले घटेको हो भन्ने खुलाउने कोलम नै हटाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च रु.१ खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँमात्र छ, अघिल्लो वर्षको समान अवधिमा यस्तो खर्च रु.१ खर्ब ७० अर्ब ९५ करोड रुपैयाँ थियो ।

यसैगरी राजस्वको वृद्धिदर पनि ० दशमलव १ प्रतिशतमा खुम्चिएको राष्ट्र बैंकले जनाएको छ । यो पनि हालसम्मै न्यून राजस्व वृद्धिदर हो ।

पहिलो तीन महिनामा सरकारले कुल १ खर्ब ९८ अर्ब रुपैयाँ राजस्व उठाउन सकेको छ । यो लक्ष्यभन्दा निकै कम हो । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

सरकारले खर्च गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा १ खर्ब २१ अर्ब २७ करोड रुपैयाँ नगद मौज्दात छ । यसमा स्थानीय तहको खातामा४० अर्ब ४१ करोड रुपैयाँसमेत जोडिएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु