गृहपृष्ठ ३३ महिनामा चार किलोमिटर सडक कालोपत्र
३३ महिनामा चार किलोमिटर सडक कालोपत्र
कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । ३० महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइए पनि हालसम्म डोकेबजार-बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ ।
‘सडक निर्माणको ३३ महिना पूरा भयो,’ हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इन्जिनियर पदमबहादुर मडैले भने, ‘अहिले तीन वटै प्याकेजमा करिब ६० प्रतिशत काम सकिएको छ ।’ तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समय अवधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उनले बताए ।
डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा-राजेन्द्र जेभीले पाएको थियो । ‘यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ,’ इन्जिनियर मडैले भने, ‘अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रूख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ।’
त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा पाएको बाबा-हंश सिद्धिसाई जेभीले अहिलेसम्म ५५ प्रतिशत मात्रै काम गरेको छ । ‘पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दै छन्,’ मडैले भने, ‘काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।’
१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । ‘वर्षातमा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ,’ पुनर्वासका स्थानीय रामसाहेद रानाले भने, ‘जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।’ (रासस)
प्रकाशित समय १५:३० बजे
















