गृहपृष्ठ मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुसी

मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुसी

सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुसी भएका छन् ।

निर्माण थालनीका बेला कलेज सञ्चालन हुने/नहुनेमा अन्योल सिर्जना हुँदा निराश देखिएका स्थानीयवासी पछिल्ला वर्षमा संरचना निर्माणको काम तीव्र हुँदा खुसी भएका हुन् । ‘सुरुका वर्षमा संरचना निर्माण ढिलाइ हुँदा यो योजना कार्यान्वयनमा आउनेमा शंका थियो, स्थानीय भक्तराज ओझाले भने, ‘अहिले भने काम धमाधम हुँदा कलेज छिट्टै सञ्चालन हुने आशा जगाएको छ ।’

कलेजका संरचना निर्माणले तीव्रता पाएसँगै आगामी एक वर्षभित्र सबै संरचनाको निर्माण पूरा हुन लागेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए । ‘विसं २०७७ को अन्त्यसम्ममा सबै संरचना तयार पारेर कलेज सञ्चालनको प्रक्रियामा जाने सोच बनाएका छौँ,’ कार्यकारी निर्देशक साउदले भने, ‘अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको निर्माण कार्य पूरा भइसकेको छ ।’

नेपाल सरकारले यस्ता कलेज सञ्चालनको ढाँचाबारे विधेयक तयार पारेर कानुनी परामर्शसमेत गरिरहेको छ । सरकारले विसं २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने तीन वर्षअघि देखि मात्रै सुरु गरिएको थियो ।

कलेजका लागि साढे तीन तलाको अस्पताल भवन, साढे पाँच तलाको कलेज भवन, दुई तलाका दुई वटा छात्रबास भवन, अढाई तलाको प्रशासनिक भवनलगायत २४ संरचना निर्माणधीन रहेका छन् ।

आउने साउन महिनासम्म कलेजको अस्पताल भवन, कलेज भवन, प्रशासनिक भवन, छात्रावासलगायत संरचना निर्माण पूरा हुन लागेको छ । चिकित्सकको आवासगृहका रूपमा आठ वटा भवन निर्माणाधीन छन् ।

अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माण भइरहेको छ । मेडिकल कलेज परिसरको मूल बाटो निर्माणका साथै कलेज निर्माणस्थलको उत्तरतर्फ रहेको नदीको नियन्त्रणको काम पनि सँगसँगै गर्न लागिएको छ ।

चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको काम पनि अघि बढ्न लागेको छ । गेटा मेडिकल कलेज ६ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेजका थप भौतिक संरचना निर्माणका लागि हाल परामर्शदाता छनोटको काम भइरहेको कार्यकारी निर्देशक साउदले बताए ।

कलेजका अस्पताल भवनलगायत संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार केएस र रविना कन्स्ट्रक्सन प्रालि संलग्न छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रूख कटानीका लागि भएको ढिलाइलगायत कारणले सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधार निर्माणको काममा ढिलाइ भएको थियो ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झन्डै ६ बिघामा मुक्तकमैया परिवारको बसोबास छ । उनीहरूलाई समयमै अन्यत्र पुनःस्थापना गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माण कार्य भने अन्योलमा छ ।

मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टरलगायत संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गर्नेबारे छलफल भइरहेको कार्यकारी निर्देशक साउदले बताए ।

जग्गाको मूल्य बढ्यो

गोदावरी नगरपालिकाको गेटा क्षेत्रमा मेडिकल कलेज निर्माण सुरु भएसँगै आसपासको जग्गाको मूल्य अकासिँदै गएको छ । कलेज आसपासका ग्रामीण बस्तीमा एक दशकअघि प्रतिकट्ठा जग्गाको मूल्य ३ लाख रुपैयाँसम्म रहेकामा अहिले १५-२० लाख रुपैयाँसम्म पुगेको स्थानीयवासी रमेश बडेलाले बताए । ‘कलेज निर्माण सुरु भएपछि अहिले जग्गाको मूल्य छोइनसक्नु भएको छ,’ बडेलाले भने, ‘पछिल्ला वर्षमा बसाइँसराइको चाप पनि बढेको छ ।’ (सिद्धराज भट्ट/रासस)

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु