गृहपृष्ठ महिला क्रिकेट : एकै खेलमा नेपालको चार कीर्तिमान !
महिला क्रिकेट : एकै खेलमा नेपालको चार कीर्तिमान !
माल्दिभ्समाथि १० विकेटको फराकिलो जित
‘वुमन अफ द म्याच’ घोषित अञ्जली चन्द ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।
माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी छन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दावी गरे ।
त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नु पनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।
जितका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्राइकमा रहेकी सीता मगरले एक बल पनि सामना गर्न परेन ।
२.१ ओभरमा २ मेडनसहित विनारन ६ विकेट लिएकी अञ्जली चन्द ‘वुमन अफ द म्याच’ भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चेकी थिइन् ।
जितपछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो सुरुवात गर्न सकेकोमा खुसी व्यक्त गरिन् । साथै यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केही गरेर देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।
माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्तर्रााष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिताअन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित समय १७:५९ बजे

















