गृहपृष्ठ ‘जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गराैं’
‘जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गराैं’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् ।
उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले भने, ‘चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला गराउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ ।’
यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसल्ला र योगदान पुग्ने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरुपमा आचार संहिताको पालना गराउन सफलता मिलेको बताए ।
उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनमा हामीले सामूहिकरुपमा गरेको असल र राम्रो गराैँ भन्ने साझा प्रणको प्रतिफल हो ।’
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचन गर्नु पर्नेस्थान थोरै भए पनि निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन गरी निर्वाचनका सबै विधि र प्रक्रिया अपनाएर चुनाव गरिएको बताए ।
विगतका निर्वाचनमा निर्वाचन आचार संहिताको अनुगमन गर्न र पालना गराउन नसकेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा प्रचारप्रसारमा ठूलो धनराशी खर्च भएको आरोप आयोगमाथि लगाइँदै आएको थियो ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गत शनिबार मुलुकका ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचनको सबै मत परिणाम निर्वाचन आयोगले आज दिउँसो सार्वजनिक गरिसकेको छ ।
निर्वाचनमा पाँच हजार ५४ कर्मचारी, ३१० मतदाता शिक्षा कार्यकर्ता खटाएको थियो । आयोगको परामर्शमा सरकारले गत साउन १६ गते उपनिर्वाचन घोषणा गरेकोमा त्यसको ठिक चार महिनामा आज मङ्सिर १६ गते उपनिर्वाचनको सबै मतपरिणाम घोषणा गर्न आयोग सफल भएको छ । (रासस)
प्रकाशित समय १७:४० बजे
















