गृहपृष्ठ युएनएचसिआरमा शरणार्थीको ज्ञापनपत्र
युएनएचसिआरमा शरणार्थीको ज्ञापनपत्र
झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोग (युएनएचसिआर) को कार्यालय अगाडि मङ्गलबार भूटानी शरणार्थीले स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।
करिब तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीमध्ये स्वदेश फर्कन चाहने शरणार्थीले प्रदर्शन गर्दै युएनएचसिआरको शाखा कार्यालयमा पुगेर त्यस्तो ज्ञापनपत्रसमेत बुझाएका हुन् । आफ्नो थातथलो प्राप्तिको प्रत्याभूतिसहित घर फिर्ती गराउन युएनएचसिआरको सहयोग चाहिने उनीहरुको माग छ ।
प्रदर्शनमा उत्रिएका शरणार्थीले कार्यालयअगाडि सुतेर स्वदेश फिर्तीको माग राखेर नारासमेत लगाएका थिए ।
राष्ट्रिय पुनर्मिलन समिति भूटानको आयोजनामा निकालिएको ¥यालीले युएनएचसिआर दमक शाखाका प्रमुख खालिद फान्सामार्फत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई पाँचबुँदे मागसहितको ज्ञापनपत्र पठाइएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए ।
झण्डै तीन दशकदेखि शरणार्थी भएर बस्दा सामाजिक, आर्थिक र पारिवारिक संरचना सबै ध्वस्त भएको उल्लेख गरिएको छ । समितिले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा १३ को उपधारा २ को सम्मानपूर्वक घर फिर्ती हुन पाउने अधिकार सुनिश्चित गर्न आफूहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष तामाङले बताए ।
हाल मोरङको पथरी र झापाको बेलडाँगी शरणार्थी शिविरमा सात हजार हाराहारीमा भूटानी शरणार्थी रहेका छन् । (रासस)
प्रकाशित समय ०८:२४ बजे
















