गृहपृष्ठ एसियन कास्य विजेतालाई पराजित गर्दै ‘पूर्वलडाकू’ अनुपमाले दिलाइन् करातेमा स्वर्ण
एसियन कास्य विजेतालाई पराजित गर्दै ‘पूर्वलडाकू’ अनुपमाले दिलाइन् करातेमा स्वर्ण
योसहित नेपालको स्वर्ण संख्या २५ पुगेको छ
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेको कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी छन् । योसहित जारी सागमा नेपालको स्वर्ण संख्या २५ पुगेको छ ।
अनुपमाले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । नर्गिस गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा कास्य पदक विजेता हुन् । श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७-४ को जितका साथ अनुपमाले फाइनल यात्रा तय गरेकी थिइन् ।
तत्कालीन माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी अनुपमा शान्ति प्रक्रियापछि कराते खेल्न थालेकी हुन् । छैटौं राष्ट्रिय खेलकुदमा माओवादी लडाकुहरुको पीएलए क्लबबाट खेलेकी उनले सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । उदयपुरकी अनुपमा हाल सिद्धार्थ बनस्थली एकेडेमीमा कराते प्रशिक्षक हुन् ।
करातेबाट नेपालले १० वटा स्वर्ण जितिसकेकाे छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदकविहीन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।
प्रकाशित समय ११:५६ बजे

















