गृहपृष्ठ राजमार्ग विस्तार गर्दा गैँडाकोटका तीन हजार रुख काटिने
राजमार्ग विस्तार गर्दा गैँडाकोटका तीन हजार रुख काटिने
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका ३ हजार २१८ वटा रुख काटिने भएका छन् । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएका हुन् ।
सबडिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ । वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान सुरु गरिने कोइरालाले बताए ।
रुखलाई दुई तहमा वर्गीकरण गरी छपानको काम भएको छ । पाँच इन्छ मोटाइभन्दा ठूलो र पाँच इन्चभन्दा सानो रुख विभाजन गरेर छपान गरिएको कोइरालाले बताए । गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म वनका रुख काटिनेछ । थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धिदात्री कोटिहोम धार्मिक वन रहेका छन् । हनुमान मन्दिर धार्मिक वनमा पाँच इन्चभन्दा ठूला ७१२ रुख छपान गरिएको छ भने पाँच इन्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । सहायक वन अधिकृत कोइरालाका अनुसार मुकुन्दसेन सामुदायिक वनमा पाँच इन्चभन्दा ठूला ८२८ तथा पाँच इन्चभन्दा साना २०५ रुखमा छपान भएको छ ।
त्यसैगरी नारायणी सामुदायिक वनमा पाँच इन्चभन्दा ठूला १ हजार ७१ तथा पाँच इन्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । त्यस्तै सिद्धिदात्री कोटिहोम धार्मिक वनमा पाँच इन्चभन्दा ठूला सात तथा पाँच इन्चभन्दा साना एउटा रुखमा छपान भएको उनले जानकारी दिए । नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम सुरु भएको छ ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणगढ-बुटवल सडकखण्डको ११३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ । पहिलो खण्ड निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रुख छपान गरेसँगै कटानका लागि आदेश कुरेर बसेको छ । रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम सुरु गर्ने कम्पनीले जनाएको छ । (रासस)
प्रकाशित समय ११:११ बजे
















