गृहपृष्ठ पुरूष फुटबल : माल्दिभ्सलाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

पुरूष फुटबल : माल्दिभ्सलाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

फाइनल पुग्न अरू खेलको नतिजा कुर्नुपर्ने

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनलनजिक पुगेको छ । शनिबार भएको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराएर महत्वपूर्ण तीन अंक जोडे पनि नेपालको फाइनल यात्रा भने अझै पक्का भइसकेको छैन । अब फाइनल पुग्न नेपालले अरू खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

इब्राहिम हुसेनले १८औं मिनेटमा  गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर ४३औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै खेल बराबरीमा पुर्‍याए । ५२औं मिनेटमा अनन्त तामाङले गरेको गोल नेपालका लागि निर्णायक बन्यो ।

यो जितसँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । पराजित भएसँगै माल्दिभ्स ४ खेलमा २ अंक मात्र जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित श्रीलंका, भुटान, बंगलादेश सहभागी छन् ।  राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा शीर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्नेछन् ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु