गृहपृष्ठ राष्ट्रियसभाको निर्वाचन माघ ९ गते
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुने भएको छ । बिहीबार सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
यसअघि निर्वाचन आयोगले माघ ७ देखि ११ गतेभित्र राष्ट्रियसभाको निर्वाचन गर्न प्रस्ताव गर्दै सरकारलाई परामर्श पेश गरेको थियो ।
यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।
निर्वाचनमा प्रदेश नं १ मा महिला एक, दलित एक र अन्य एक गरी तीन, प्रदेश नं २ मा महिला एक, दलित एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी चार, प्रदेश नं ३ मा महिला एक र अन्य एकजना गरी दुई पदका लागि निर्वाचन हुनेछ । त्यस्तै गण्डकी प्रदेशमा महिला एक र अन्य एक गरी दुई तथा प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी तीन, कर्णाली प्रदेशमा महिला एक, अन्य एक गरी दुई र सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य एक गरी दुई पदका लागि निर्वाचन हुनेछ ।
स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको २ वर्ष, २० जनाको ४ र बाँकी २० जनाको वर्ष कार्यकाल ६ वर्ष कायम गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा उक्त प्रयोजनका लागि दल दर्ता गराउनु पर्नेछ ।
प्रकाशित समय १५:५४ बजे

















