गृहपृष्ठ प्रशोधित पाम आयल आयातमा भारतले लगायो प्रतिबन्ध

प्रशोधित पाम आयल आयातमा भारतले लगायो प्रतिबन्ध

palm-oil

प्रशोधित पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएको छ । भारत सरकारले प्रशोधित पाम आयल र प्रशोधित पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।

कास्मिर मुद्दाका विषयमा मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरलेले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले बुधबार पाम आयलको आयात रोक्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा सबैभन्दा बढी पाम आयल मलेसियाबाटै आयात हुन्छ ।

सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा मलेसियाका प्रधानमन्त्री महाथिरले नयाँ दिल्लीले कास्मिर हडपेको बताएका थिए । कास्मिर मुद्दामा दुई देशबीच रहेको असमझदारी पाम तेलमा पोखिएको द डिप्लोम्याट म्यागजिनले उल्लेख गरेको छ । भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम आयल र रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिनको आयात रोक्ने उल्लेख छ ।

 

नेपाली व्यवसायी प्रभावित

भारतको यो निर्णयले नेपाली व्यवसायी पनि प्रभावित हुने देखिएको छ । नेपाली व्यवसायीले भारतबाट कच्चा पाम आयल आयात गरी प्रशोधनपछि भारत नै निकासी गरेर करोडौं कमाइरहेका थिए । नेपालमा पाम आयल उत्पादन हुँदैन र पाम आयलको खासै प्रयोग पनि हुँदैन । यसअघि भारतले नेपालबाट आयात हुने वनस्पति घ्यूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार नेपालको निर्यात व्यापारमा पाम आयलको हिस्सा २४ प्रतिशत छ । पाँच महिनामा नेपालले १० अर्ब १२ करोडको कच्चा पाम तेल आयात गरेर ११ अर्ब ५५ करोड रुपैयाँको निकासी गरेको छ । गत वर्ष नेपालबाट १० अर्ब ३३ करोडको प्रशोधित पाम आयल भारत निर्यात भएको थियो । र, आव ०७४/७५ मा १२ करोड ५८ लाख रुपैयाँबराबरको पाम आयल निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

पाम तेल पिज्जा, दुनट, स्याम्पु, टुथपेस्टलगायतका सामग्री बनाउन प्रयोग हुने व्यापारी बताउँछन् । मोरङमा पाम आयल प्रशोधन गर्ने एक दर्जन उद्योग छन् । नेपालको समग्र वैदेशिक व्यापार घाटा पाम आयलकै कारण कम हुँदै गएका बेला निर्यातमा प्रतिबन्धले ठूलो असर पर्नेछ । वैदेशिक व्यापार घाटा कम गर्न व्यापारभन्दा औद्योगिक उत्पादन निर्यातलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अर्थविदहरूको सुझाव छ ।

सौविध्यपूर्ण बजार सुविधाअन्तर्गत नेपालबाट भारतमा तेल निर्यात गर्दा भन्सार महसुस लाग्दैन । सोही सुविधाको उपयोग गर्दै व्यापारीले भारतबाट आयात गरी रिफाइन र प्याकेजिङ गरेर भारत नै निर्यात गर्दै आएका थिए । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको बताए पनि भन्सार विभाग र अर्थ मन्त्रालयले भने यसबारे जानकारी नपाएको बताएका छन् ।

यी समाचार पनि पढ्नुहोस्

पाम आयलको आयात-निर्यात व्यापारमा उच्च वृद्धि

निर्यात व्यापारमा नयाँ धन्धा : पाम आयल ल्याउँदै विदेश पठाउँदै

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु