गृहपृष्ठ उपत्यकाका १८ पेट्रोल पम्प हटाउने निर्णय, कुन-कुन परे ?

उपत्यकाका १८ पेट्रोल पम्प हटाउने निर्णय, कुन-कुन परे ?

Petrol Pump_NewsKarobar

सडकको मूल संरचनासँगै जोडेर बनाइएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय लिएको छ । पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषदको पुस १५ गतेको निर्णयअनुसार गृह मन्त्रालयले ती पेट्रोल पम्पहरू स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चाल्न नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ ।

मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको निष्कर्षसहित सरकारले सो निर्णय लिएको हो । यो निर्णयपूर्व महानगरीय ट्राफिक प्रहरी, सडक विभाग र उपत्यका दुवै महानगरपालिकाहरूले आवश्यक तयारी गरेका थिए ।

सरकारको निर्णयअनुसार स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरूमा कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्प रहेका छन् ।

यस्तै, महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोरलाई पनि स्थानान्तरण गराउने निर्णय भएको छ ।

यी पेट्रोल पम्पहरू मूल सडकसँगै जोडिएर सञ्चालनमा रहेका कारण सवारी आगमनलाई बाधा पुगिरहेको ठहर गरिएको छ । पेट्रोल–डिजेल भर्ने सवारी साधनको लाइन हुँदामात्र होइन, केही पेट्रोल पम्पको त पेट्रोल हाल्ने पाइप र नोजलसमेत सडकमै आइपुग्छ ।

उपत्यकाभित्र रहेका १४४ पेट्रोल पम्पमध्ये धेरैजसो पेट्रोल पम्प मूल सडक क्षेत्रमै भए पनि पहिलो चरणमा यी १८ वटालाई मात्र स्थानान्तरण गर्ने निर्णय गरिएको हो । उपत्यकामा सञ्चालित दर्जन अधिक पेट्रोल पम्पको आफ्नो कम्पाउन्ड नै छैन, जसले गर्दा सवारी साधनहरू सडकमै लाइन लागेर पेट्रोल–डिजेल हाल्नुपर्ने अवस्था छ ।

सरकारले हालै पारित गरेर कार्यान्वयनमा पठाएको ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना–२०७६’ कार्यान्वयनका क्रममा यी पेट्रोल पम्पहरू हटाउन लागिएको हो ।

सरकारको कार्ययोजनाअनुसार नेपाल आयल निगम र सडक विभागले यी पेट्रोल पम्पहरूलाई स्थानान्तरका लागि प्राथमिकता निर्धारण गरेर तत्कालै कार्यान्वयन आरम्भ गर्ने तथा यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले आवश्यक समन्वय गर्ने उल्लेख छ ।

यसबाहेक काठमाडौं महानगरपालिकाको अध्ययन टोलीले सोल्टीमोडको सीता पेट्रोल पम्प र एकान्तकुनाको गायत्री पेट्रोल पम्पलाई पनि हटाउनु पर्ने सूचीमा राखेको भएको पनि सरकारको निर्णयमा यी पेट्रोल पम्पको नाम छैन ।

बिहान–बेलुकामात्रै पेट्रोल खन्याइने

उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्नका लागि सरकारले अबदेखि पेट्रोल पम्पहरूमा बिहान ७ भन्दा अगाडि र बेलुका ८ बजेपछि मात्र पेट्रोलियम पदार्थ आपूर्ति गर्ने निर्णय गरेको छ । सवारी साधन अत्याधिक सञ्चालन हुने ‘पिक आवर’मा पेट्रोलियम पदार्थ आपूर्ति गरिँदा त्यसले जाम बढाउने गरेको निष्कर्षपछि यो निर्णय गरिएको हो ।

यसैगरी, सवारी साधनहरूलाई निश्चित दिशामा मात्र पेट्रोलीयम पदार्थ हाल्न दिने (च्यानलाइजिङ गर्ने), पेट्रोल पम्पहरूमा सडकको सवारीलाई असर नपार्ने गरी सवारी साधनहरूको प्रवेश र बर्हिगनमको व्यवस्था गर्ने र पेट्रोल पम्पहरूलाई पहेंलो रेखांकन गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु