गृहपृष्ठ भर्चुअल कक्षा : एउटा विद्यालयमा पढाउने, ५ विद्यालयका विद्यार्थीले सिक्ने

भर्चुअल कक्षा : एउटा विद्यालयमा पढाउने, ५ विद्यालयका विद्यार्थीले सिक्ने

वीरेन्द्रनगर नगरपालिकाले नगरका ५ वटा विद्यालयमा ‘भर्चुअल कक्षा’ सुरु गरेको छ । शिक्षक दरबन्दीको विकल्पमा भर्चुअल कक्षा सञ्चालनमा ल्याइएको हो ।

कम्प्युटरको माध्यमबाट प्रत्यक्ष रुपमा विद्यार्थीहरुले दोहोरो संवादसमेत गर्न सक्ने गरी भर्चुअल कक्षाको सुरुवात गरिएको हो । विद्युतको पहुँचभन्दा बाहिर रहेको वीरेन्द्रनगर नगरपालिका- १५ का दुईवटा विद्यालय र वीरेन्द्रनगर नगरपालिकाभित्रका ३ वटा विद्यालयमा भर्चुअल कक्षा सुरु गरिएको वीरेन्द्रनगर नगरपालिकाका विद्यालय निरीक्षक उत्तम आचार्यले जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतुदेविस्थान सुर्खेत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पारेगाउँ, मदरसा मदिना माध्यमिक विद्यालय, आनन्द माध्यमिक विद्यालय कृष्णगञ्ज र प्रभात माध्यमिक विद्यालय कोल्डाँडामा उक्त कक्षा सञ्चालनका लागि दशलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अमरज्योति माध्यमिक विद्यालयबाट प्रत्यक्ष रुपमा शिक्षण गरिएको कक्षा उक्त ५ वटा विद्यालयका विद्यार्थीले अध्ययन गर्न पाउने भएका हुन् । उक्त प्रविधिको लागि नगरले ल्यापटप र इन्टरनेटको समेत व्यवस्था गरिदिएको उनले बताए । ‘वीरेन्द्रनगर नगरपालिका- १५ का विद्यालयमा निम्न माध्यमिक तहबाटै शिक्षक दरबन्दी छैन,’ उनले भने, ‘अन्य विद्यालयमा समेत न्यून शिक्षक दरबन्दी भएकाले भर्चुअल कक्षा सञ्चालनमा ल्याइएको हो ।’

तत्कालका लागि कक्षा दशका विद्यार्थीहरुलाई एसईई परिक्षाका लागि सहयोग होस् भनेर कक्षाहरु सञ्चालनमा ल्याइएको उनले बताए । कक्षा दशको गणित, विज्ञान र अंग्रेजी विषयका कक्षाहरु सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतुदेवीस्थान सुर्खेतका शिक्षक प्रेम सारु मगरले विद्युतसमेत नपुगेको क्षेत्रमा भर्चुअल कक्षाबाट अध्ययन गर्न पाउँदा विद्यार्थीहरु उत्साहित भएको बताए । उनले विद्यालयमा शिक्षक दरबन्दी नभएको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले उपयुक्त विकल्पको खोजी गरेको बताए ।

वीरेन्द्रनगर- १२ को अमरज्योति माध्यमिक विद्यालयको शिक्षण शिक्षक दरबन्दी नभएका अन्य पाँचवटा विद्यालयका विद्यार्थीहरुले लिन पाउने उनले बताए । कक्षा सञ्चालन हुने विद्यालयमा समेत विषयगत शिक्षक अनिवार्य कक्षामा बस्ने उनले बताए । दुर्गमका विद्यालयमा शिक्षक भए पनि गुणस्तर नभएको र विद्यार्थीहरु ट्युशन कक्षा लिन सदरमुकाम आउनुपर्ने बाध्यतालाई रोक्नसमेत यो प्रविधि अपनाइएको उनले बताए । ‘विद्यार्थीले प्रत्यक्ष रुपमा शिक्षकसँग प्रश्न गर्न पाउँछन्,’ उनले थपे, ‘त्यतिमात्रै होइन दोहोरो संवादको शिक्षण सिकाइले विद्यार्थीमा राम्रो सिकाई हुन्छ ।’

पहिलो चरणमा प्रविधिको जडान दुर्गमको वडाका विद्यालयबाट गरेको भन्दै आचार्यले बिहीबार वीरेन्द्रनगर नगरपालिका- १५ का दुईवटा विद्यालयबाट कक्षा सुरु गरिएको जानकारी दिए । कक्षा दशमा मात्रै नभई निकट भविष्यमा कक्षा ८ का विद्यार्थीहरुलाई समेत भर्चुअल कक्षामा जोड्ने उनले बताए । यो परिक्षणकाल भएको भन्दै आचार्यले प्रविधि सफल भएको खण्डमा नगरका अन्य विद्यालयहरुमा समेत भर्चुअल कक्षा सुरु गर्ने बताए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतुदेवीस्थान सुर्खेतका शिक्षक प्रेम सारु मगरले विद्युतसमेत नपुगेको क्षेत्रमा भर्चुअल कक्षाबाट अध्ययन गर्न पाउँदा विद्यार्थीहरु उत्साहित भएको बताए । उनले विद्यालयमा शिक्षक दरबन्दी नभएको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले उपयुक्त विकल्पको खोजी गरेको बताए । ‘शिक्षकको विकल्पकै रुपमा भर्चुअल कक्षा सञ्चालन भएको हो । विद्यार्थीलाई प्रविधिसँग जोड्नु अझै उत्कृष्ट काम हो,’ उनले भने । वीरेन्द्रनगर नगरपालिका- १५ विद्युतको पहुँचबाट टाढा भए पनि सोलार जडान गरी सेवा सुरु भएको उनले बताए ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु