गृहपृष्ठ महायज्ञबाट गौतमबुद्ध रंगशालालाई ३५ करोड संकलन
महायज्ञबाट गौतमबुद्ध रंगशालालाई ३५ करोड संकलन
अझै २० करोड उठ्ने अपेक्षा
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी ३५ करोडभन्दा बढी संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप २० करोड संकलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रंगशालालाई ५५ करोड संकलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
रंगशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक संकलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामुदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम संकलन गरी महायज्ञमा बुझाएका छन् ।
मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वागमती प्रदेश सरकारले १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ । यसैगरी जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले एक करोड बराबर सहयोग गर्ने जनाएको छ ।
यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रम छ ।
निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेस समूहका अध्यक्ष वामदेव गौलीले एक करोड १२ लाख बराबरको जग्गा दान गरेका छन् । पोल्ट्री व्यवसायीहरुले एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसंघलगायतका संघसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।
महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयं सहयोगको घोषणा गरेका छन् । जसले अरूलाई पनि उत्साहित बनाएको छ ।
जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शंकर कँडेलले बताए । उनले भने, ‘भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रंगशालालाई सहयोग गरेका छन् ।’ जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम संकलन भएको उनले जानकारी दिए ।
नगदसँगै हालसम्म ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत संकलन भएको छ । सहकोषाध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा यति धेरै उत्साहका साथ महायज्ञ भएको बताए । महायज्ञ स्थलनजिकै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । रंगशाला निर्माणमा पनि स्वयंसेवी रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् । महानगर प्रमुख रेणु दाहालले चितवनवासीमात्रै नभएर धेरैले रंगशालालाई अपनत्व ठानेकै कारण महायज्ञमार्फत सहयोग गर्न सकारात्मक भएर लागेको बताइन् । उनले रंगशाला निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुने बताइन् ।
धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माण गर्न करिब दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । जनस्तरबाट निर्माण हुन लागेको देशकै यो पहिलो रंगशाला हो । (नारायण अधिकारी/रासस)
प्रकाशित समय १७:१५ बजे

















