गृहपृष्ठ सप्तकोसीको जेटबोट बन्द, स्थानीय तहले दुःख दिने नियत राखेको आरोप
सप्तकोसीको जेटबोट बन्द, स्थानीय तहले दुःख दिने नियत राखेको आरोप
सप्तकोसी नदीमा सञ्चालित जेटबोट अनिश्चितकालका लागि बन्द हुने भएको छ । स्थानीय तहले बढाएको कर र ‘गुन्डागर्दीको डर’को कारण देखाउँदै जेटबोट बन्द गर्न लागिएको हो ।
सञ्चालकहरुले बुधवार विज्ञप्ति जारी गर्दै ‘राज्यले आवश्यक कानुन र सुरक्षा उपलब्ध नगराएको’ भन्दै अनिश्चितकालका लागि जेटबोट बन्द गर्ने जनाएका हुन् । जेटबोट सञ्चालनमा स्थानीय तहले समन्वय गर्ने भन्दा पनि कर बढाएर दुःख दिने नियत राखेको उनीहरूको आरोप छ ।
सप्तकोसी टुरिज्म एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीको ६ वटा जेटबोट सप्तकोसीमा सञ्चालित छन् । १८ जनादेखि ६० जना क्षमताको दुई किसिमका जेटबोट कोसीमा सञ्चालित छन् । जेटबोटकै कारण सो क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको थियो ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह नगरपालिकाको बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेटबोट सञ्चालन रहेको थियो । सुनसरीको बराह क्षेत्र- १ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको संगम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरण लाभान्वित भएका थिए ।
दैनिक ५ सय बढीले जेटबोटको यात्रामार्फत आफ्नो गन्त्वयमा पुग्ने गरेका थिए । जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिसहरु आउजाउ गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको थियो ।
प्रकाशित समय १४:२४ बजे

















