गृहपृष्ठ इतिहास रच्दै मछिन्द्रले जित्यो उपाधि, आत्मघाती गोलमा आर्मी स्तब्ध
इतिहास रच्दै मछिन्द्रले जित्यो उपाधि, आत्मघाती गोलमा आर्मी स्तब्ध
१३ खेलमा १० जित, २ बराबरी र १ हारसहित विजेता
सानमिगेल मछिन्द्र क्लबले ४३औं संस्करणको ‘कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग’को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो ।
मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो । २०औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।

३३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।
१३ खेलमा मछिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा आर्मीले ९ मा जित, समान २ मा हार र बराबरीसहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ भने थ्री स्टार चौंथो, जावलाखेल पाँचौँ र नेपाल पुलिस छैठौं स्थानमा छ । यी शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्न पाउने छन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।
आर्मी दोस्रोपटक उपाधिनजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी नेपाल पुलिससँग अन्तिम खेलमा पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भए पनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुवै टोलीले समान प्रदर्शनमा गरेको भए पनि गत सिजन अन्तिम २ मा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो ।

प्रकाशित समय १६:११ बजे

















