गृहपृष्ठ ‘महाशिवरात्रि विश्व संगीत महोत्सव’ पोखराको बाराहीघाटमा
‘महाशिवरात्रि विश्व संगीत महोत्सव’ पोखराको बाराहीघाटमा
नमस्ते ब्यान्डको आयोजनामा ‘महाशिवरात्रि विश्व संगीत महोत्सव– २०२०’ आयोजना हुने भएको छ । नमस्ते ब्यान्डको ३१औं वार्षिकोत्सवको अवसरमा फागुन १० गते हुने १५औं महाशिवरात्रि विश्व संगीत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । महाशिवरात्रि ‘विश्व संगीत महोत्सव– २०२०’ पोखराको बाराहीघाटमा सञ्चालन हुनेछ ।
कार्यक्रमले भ्रमण वर्ष २०२० को प्रवर्धन गर्ने आयोजकको विश्वास छ । विगतका प्रत्येक वर्ष काठमाडौं र पोखरामा हुँदै आएको सांगीतिक महोत्सव पछिल्ला वर्षहरुमा ५–५ वर्षमा गर्ने घोषणाअनुसार यो वर्ष पोखरामा गर्न लागिएको ब्यान्डका संयोजक ईश्वर गुरुङले जानकारी दिए ।
कार्यक्रममा नमस्ते ब्याडको विशेष प्रस्तुति रहनेछ । महोत्सवमा आयोजक नमस्ते ब्यान्डमात्र नभई अन्य ब्यान्डको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । पिजे पिस ज्वाइन्ट ब्यान्ड (अमेरिका), नमस्ते ब्यान्ड (जापान–नेपाल), रोन युनिटी (लियोन स्टार युके), बम शिव भिमानी (जापान), हिता ग्रुप (तिब्बत), १९७४ एडी, कुटुम्ब ब्यान्डलगायतका अन्य ब्यान्ड तथा कलाकारको पनि प्रस्तुति रहनेछ ।
सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यान्ड र प्रसिद्ध गायक–गायिकाको उपस्थिति हुने जनाइएको छ । नेपालका ख्याती प्राप्त कलाकारहरु दिप श्रेष्ठ, राजेश पायल राई, मनिला श्रेया सोताङलगायतको विशेष प्रस्तुति रहनेछ । संगीत विकास, सम्वर्धन, प्रवर्धन र संस्कृति प्रवर्धनलाई एकै ठाउँमा मिश्रित गर्न सांगीतिक समूहहरु तथा स्वदेशी विदेशी कलाकारको जमघट गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
प्रकाशित समय २१:१६ बजे
















