गृहपृष्ठ सम्पत्ति शुद्धीकरणको चिठीले व्यवसायजगत आतंकित : चेम्बर
सम्पत्ति शुद्धीकरणको चिठीले व्यवसायजगत आतंकित : चेम्बर
नेपाल चेम्बर अफ कमर्सले सम्पत्ति शुद्धीकरणको चिठीले व्यवसायजगतलाई आतंकित बनाएको जनाएको छ । अर्थ मन्त्रालयमा बुधबार अर्थ सचिव शिशिरकुमार ढुंगानासँग भेट गरी चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायको लागत बढेको, कर चुक्ता अनलाइन हुनुपर्ने, अडिट धेरै संख्यामा भएको तथा सम्पत्ति शुद्धीकरणको चिठीले व्यवसायजगतमा आतंक सिर्जना भएकोबारे जानकारी गराएका हुन् ।
चेम्बर अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रको विकासमा जोड दिने अपेक्षा गरे । ‘चालू आर्थिक वर्षमा बजेटको आकार घटाइएकाले सबै क्षेत्रमा असर पर्ने देखिएको छ,’ उनले भने, ‘तथापि अपेक्षित वृद्धिदर हासिल हुने तथा बैंकिङ समस्या समाधान गर्न कमिटी गठन गरिएकाले ब्याजदर घट्ने आशा राखेका छौं ।’
मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट राष्ट्र बैंकले लागू गरेको संकुचित प्रावधान केही खुकुलो हुने अपेक्षा राखिएको अध्यक्ष श्रेष्ठले बताए । भारतीय बजेटबाट करको दर उल्लेखनीय रुपमा घटाइएको र कृषिमा अत्यधिक अनुदान दिइएबाट हाम्रा कृषि वस्तुलाई प्रतिस्पर्धी बनाउन ठोस कार्ययोजनाको आवश्यकता उनले औंल्याए । करसम्बन्धी कानुन उल्लंघन गरेको पाइए उद्यमी व्यवसायीलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनुपर्ने उनले दोहोर्याए ।
चेम्बर टोलीसँगको भेटमा अर्थ सचिव ढुंगानाले सरकारले एकद्वारबाट कर संकलनको सोच बनाइरहेको जानकारी गराए । ‘कर संकलनसँगै व्यवसाय गर्ने लागत पनि बढेकोप्रति सरकार सचेत छ,’ उनले भने । सम्पति शुद्धीकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने भन्दै उनले बिमालगायत अन्य सेवालाई पनि अनलाइनमा जान प्रोत्साहित गरिरहेको जानकारी गराएका थिए । सचिव ढुंगानाले माघ २८ गतेदेखि अर्थ सचिवको जिम्मेवारी सम्हालेका छन् ।
प्रकाशित समय १०:४० बजे

















