गृहपृष्ठ विमानस्थलकै कारण पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन्छजस्तो लाग्दैन : कृष्ण भण्डारी
विमानस्थलकै कारण पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन्छजस्तो लाग्दैन : कृष्ण भण्डारी
आइतबारदेखि ‘वर्ल्ड कप एसियन टुर’
प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको गन्तव्य हो । आइतबारदेखि पोखरामा प्याराग्लाइडिङको ‘वर्ल्ड कप एसियन टुर’ आयोजना हुँदैछ । टुरलाई एफएआई र प्याराग्लाइडिङ वर्ल्ड कप कमिटिले मान्यता दिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ (नेफा) र नेपाल पाइलट क्लबको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । यसै सन्दर्भमा नाका अध्यक्ष कृष्ण भण्डारीसँग न्युजकारोबारका गण्डकी संयोजक महेश ढुंगानाले गरेको कुराकानी :
प्रतियोगिताको तयारी कस्तो भइरहेको छ ?
प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुरको सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको छ । यसमध्ये शान्ति सुरक्षाका विषयमा पनि हामीले सबै तयारी गरिसकेका छौँ । खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालयलगायत जहाँजहाँबाट स्वीकति लिनुपर्ने हो, लिइसकेका छौँ । केही व्यवस्थापनका कुरा भने भई नै रहेका छन् । तयारी प्रायः बाँकी छैन ।
‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन कप टुर २०२०’को मुख्य उद्देश्य के हो ?
प्रतियोगिता गर्नुको मुख्य उद्देश्य भनेको हामी खेल क्षेत्रमा क्रियाशील भएकाहरुले यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु पनि हो । मुख्य कुरा, प्याराग्लाइडिङका खेलाडीहरुलाई प्याराग्लाइडिङ खेलको अन्तिम निकाय ‘प्याराग्लाइडिङ वर्ल्ड कप सुपर फाइनल’सम्म पुर्याउने, विभिन्न प्रतिस्पर्धामा पनि यस क्षेत्रमा लागेका खेलाडीहरुलाई दक्षता अभिवृद्धि गर्नेलगायत उद्देश्यले प्रतियोगिताको सुरुआत गरेका हौँ ।
‘भ्रमण वर्ष- २०२०’लाई प्रतियोगिताले के-कस्तो सहयोग पुग्छ ?
यस प्रतियोगितामा १२५ जना विदेशी खेलाडीको सहभागिता हुने पक्का भइसकेको छ । विभिन्न देशबाट खेलाडीसँगै प्राविधिक, संरक्षक, साथीभाई, परिवार सबै गरी करिब ५०० को हाराहारीमा विदेशीहरु पोखरा आउँदै हुनुहुन्छ । यसले पनि भ्रमण वर्षलाई टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।
प्याराग्लाइडिङको लागि पोखरा कतिको उपयुक्त स्थान हो ?
प्याराग्लाइडिङ गर्नका लागि विश्वका उत्कृष्ट पाँचमध्ये पोखरा एक हो । विदेशी प्याराग्लाइडिङ खेलाडीहरु, प्याराग्लाइडिङबाट मनोरञ्जन लिन चाहने पर्यटकलगायत सबैको रोजाई पोखरा पर्दछ । जसकारण पोखरा ‘ब्राण्डिङ’ बनिसकेको छ । ‘पोखरा पुगिसकेपछि प्याराग्लाइडिङ गर्नुपर्छ’ भन्ने नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि यसको प्रचारप्रसार भएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि प्याराग्लाइडिङमा के समस्या हुन्छ ? वैकल्पिक स्थानबारे के सोच्नुभएको छ ?
प्याराग्लाइडिङ आजभन्दा २० वर्ष अगाडिबाट व्यवसायिक रुपमा उडान हुँदै यसको विभिन्न प्रतियोगितसासमेत सञ्चालन भइरहेको छ । विश्वका एकदमै विकसित राष्ट्र युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न देशहरुबाट प्याराग्लाइडिङका पारखीहरु उड्न आउने ठाउँ हो पोखरा ।
अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यसको भविष्यलाई हेर्दा पोखरा विमानस्थलको रनवे पूर्व-पश्चिम छ । यसको सम्पूर्ण ल्यान्डिङ र टेकअफ नै पूर्वबाट हुन्छ । जसकारण पश्चिमतिर जहाजहरु आउँदैनन् । तर ल्यान्डिङको क्रममा फरक परिस्थिति आएर मिसएप्रोज गर्ने अवस्थामा सराङकोटमाथि भएर जहाज उड्छ, यो चाहिँ समस्याको विषय हो । यस विषयमा पटक-पटक छलफल भइरहेको छ । समस्या समाधानका उपायहरु खोजिरहेका छौँ ।
पोखरामा प्याराग्लाइडिङ राख्न सकिने सम्भावना पनि छ । तर विधि र प्रविधिका कारण निश्चित मापदण्डभित्र रहेर मात्र प्याराग्लाइडिङ उडाउनु पर्ने हुन्छ । अहिले लाइभ ट्रयाकरबाट उडान गरिरहेका छौँ । जीपीएसको माध्यबाट पाइलटहरु जहाँ-जहाँ हुन्छन्, त्यसको लाइभ ट्रयाक स्क्रिनमा देखिन्छ । यो प्रविधि हामीले नेपाल प्राधिकरणलाई अध्ययन र अनुगमन गरिदिनको लागि पत्राचार गरेका छौँ ।
अहिलेको सम्मको सबै कुरा हेर्दा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ पूर्ण रुपमै विस्थापित हुनुपर्छ भन्ने लाग्दैन । त्यसकारण तुरुन्तै वैकल्पिक ठाउँ हेर्ने कुरामा जोड दिएका छैनौँ । टेक्निकल कुरा हो कुनै पनि हालतमा यहाँ नरहने निचोड आएमा विभिन्न वैकल्पिक ठाउँ पनि रहेका छन् । पोखरा र स्याङ्जाका उत्तरी क्षेत्रहरु सम्भावित विकल्प हुन् । नेपाल हवाई खेलकुद संस्थाको मान्यता नेपालभर प्याराग्लाइडिङ पुर्याउनुपर्छ भन्ने हो । अनुशासनमा रही निश्चित मापदण्ड र प्रविधिभित्र रहेर काम गर्यौँ भने यहाँबाट विस्थापित हुनपर्छ जस्तो लाग्दैन ।
पोखरामा प्याराग्लाइडिङको व्यवसायिक अवस्था कस्तो छ ?
अहिले प्याराग्लाइडिङ पोखराको प्रमुख पर्यटकीय आधार भइसकेको छ । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिल तीन सयभन्दा बढी नेपाली पाइलट छन् । अहिले दैनिक ६ सयभन्दा बढी प्याराग्लाइडिङ भइरहेको छ भने प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
तर पोखरा विमानस्थल सन् २०२१ निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्यारग्लाइडिङ बन्द हुन सक्ने भन्दै सबैको चिन्ताको विषय बनेको छ । संसारका कतिपय देशमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै प्याराग्लाइडिङ सञ्चालनमा रहेका उदाहरण प्रशस्त छन् ।
प्रकाशित समय १८:२० बजे

















