गृहपृष्ठ नारी दिवसलाई म खास सम्झन्न

नारी दिवसलाई म खास सम्झन्न

आजको दिन आउन तीन-चार दिन बाँकी रहँदा केही महिला साथी र दिदीहरुले ‘आइतबार त नारी दिवस बिदा होला नि’ भन्दै हुनुहुन्थ्यो । त्यस्तै प्रश्न आज घरबाट अफिसका लागि निस्कँदा पनि आयो । ‘आज त नारी दिवस । आज पनि सुख छैन, अफिस जाने ?’

अनि मनमनै प्रश्न तेर्साएँ, नारी दिवसको दिन बिदा किन चाहियो र ? प्रश्न सरल र सानो लाग्न सक्छ तर यसले महिलाको अग्रसरतालाई समेत प्रश्न उठाएको छ । हुन त म बालापन हुँदा नारी के हो ? भन्ने नबुझ्दै नारी दिवसमा विद्यालय बिदा हुँदा खुशी हुन्थेँ । तर यतिबेला समय र परिस्थिति बिल्कुलै फरक छ । महिला अधिकार के हो ? मेरो अधिकार के हो ? र मेरो जिम्मेवारी के हो ? भन्ने कुराहरु बिस्तारै बुझ्दै जाँदैछु ।

संसारभरका महिलाहरूले महिला दिवस मनाउन थालेको आज ११० वर्ष पूरा भयो । एक शताब्दी लामो संघर्षपछि पनि वर्षेनि नारी दिवस मनाउनुको औचित्यमा ‘नारी दिवसको दिनमा पनि बिदा छैन’जस्ता महिलाकै सरल प्रश्नले नारी दिवसको खिल्ली उडाएजस्तो लाग्छ । अनि त्यो क्यालेन्डरबाट आधुनिक महिलावादको उग्ररुप लिएका महिलाको दिवस च्यातिदिन मन लाग्छ ।

नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । नेपालका साथै विश्वका सबै देशमा वर्षेनि नारी दिवस मनाइन्छ । यो वर्ष पनि नारी दिवस मनाइँदैछ ।

तर पछिल्लोसमय भिन्न हुँदैछ नारी दिवस मनाउने चलन अनि यसको महत्व । कसरी लिँदैछन् आजभोलि स्वयं नारीले नारी दिवसलाई ? म पनि २० वर्षको उमेरमा हिँड्दै गरेकी युवती हुँ । तर मैले पनि नारी दिवसबारे सही अर्थ केही वर्षपहिले मात्रै थाहा पाएकी हुँ । थाहा छैन, यो मेरो कमजोरी हो वा अरु नै कसैको ।

म त्यो आमाको छोरी हो, जसको बिहे १६ वर्षको उमेरमा भएर १७ वर्षमा मलाई जन्म दिएकी थिइन् । यस कुराबाट नै हामी एक रुपले प्रष्ट हुन सक्छौँ कि महिलाको परिस्थिति अनि अधिकार कहाँनेर छ ? तर अचेल त्यो सामाजिक स्तरभन्दा केही माथि उठिसकेका छौँ । एकाधबाहेक धेरैजस्तो बालविवाह रोकिएका छन् । कम भएका छन् ।

मेरै आमाले समेत मलाई विवाह गर्नका लागि आफ्नो जीवनसाथी चुन्ने अधिकार मलाई दिनुभएको छ । तर मैलेजस्तो स्वतन्त्रता सबैले पाएका नहुन सक्छ । उनीहरुको स्थान कहाँनेर छ भन्ने कुरा एकपल्ट यो मार्च ८ मनाउँदै गर्दा सोच्नु आवश्यक छ।

नेपालको विकट ठाँउमा महिलामाथि दमन, बलात्कारजस्ता अत्याचारको कुरा नगरौं । मात्र अबको पुस्ताको सोचाइमा मेरो एउटा धारण व्यक्त गर्दैछु । विना कुनै भेदभाव, रोकावट हुर्केको अहिलेको नयाँ पुस्ता खुलेर हाँस्न सबैसँग बोल्न बेफिक्री तरिकाले आफ्नो जीवन जिउनलाई नारी अधिकार सोच्छौं । तर के यही हो त अधिकार, खास के हो नारी अधिकार र नारीवाद ?

अक्सर धेरै व्यक्तिले मेरो लेखमा टिप्पणी गर्नुहुन्छ, ‘तिम्रो लेख त पुरै नारीवादी शैलीमा छ ।’ अघिल्लो वर्षको कुरा, एकजना दाइले टिप्पणी गर्दै उहाँले प्रयोग गरेको ‘फेमिनिस्ट’ शब्द कहिल्यै सुनेकी थिइनँ । सोध्न पनि लाज लागेर गुगलमा सर्च गरेकी थिएँ ।

लैंगिक समानता भन्दै हामीले मागेका त्यो आधुनिक नारीवादको अधिकारले भावी पुस्तामा कस्तो असर पुग्छ त ? स्वतन्त्रता पाएर छाडा गतिमा हिँडेको यो बाटोले हाम्रो भविष्य कतातर्फ लैंजादै छ । छोरी आत्मनिर्भर बन्नुपर्छ भन्ने पाठ सिकाएका हाम्रा अभिभावकले के साँच्चिकै हामीमा परिवर्तन ल्याउँदै छ त ?

‘म त्यो नारी हुँ जो महिनावारी हुनुमा गर्व गर्छु’भन्दै सडकमा पोस्टर बोकेर हिँड्छु । तर, एउटा स्यानिटरी प्याड किन्ने सय रुपैयाँ पनि परिवार कि त श्रीमानसँग माग्ने गर्छु । बिहे गर्नको लागि कालो टोपी लाइसेन्स ल्याई छोरी भन्ने मेरी आमालाई सर्टिफिकेट बुझाएर एक कुशल गृहणी बनेर बसेकी हुन्छु । म भन्दिनँ कि, गृहणी मात्र भएर बस्नु गलत हो तर ती सटिफिकेटको के काम जो मात्र दराजमा थन्किन्छन् । पढ्न पाउनुपर्छ भन्ने अधिकारको के काम जसले आत्मनिर्भर भइसकेपछि परिवारको जिम्मेवारी बहन गर्दैन । यी त समाजमा हामीले देखिआएको स-साना उदाहरण मात्र हुन् । यस्तै नियम अनि नयाँ सोचले भावी पुस्तामा नारी अधिकारको अर्थ कता पुग्ला ? स्वतन्त्रतालाई नारीवादको नाम दिँदै गर्दा लाग्छ फेरि महिलाको परिस्थिति त्यही पहिलाकै पुस्तातर्फ नै जाँदै त छैन ?

‘फेमिनिज्म’को अर्थ यो कि महिला र पुरुष दुवैलाई समाजमा समान व्यवहार मिलोस् तर यो बराबरीको चक्करमा हामीले फेमिनिज्मको नाममा गलत फाइदा उठाउँदै छौँ ।

स्वतन्त्रतालाई नारी अधिकार भन्ने आधुनिक महिलावादी सोचले नारी हिंसा र उत्पीडनलाई थिचेर राखेको छ । अझै पनि लैंगिकलगायत विभिन्न भेदभावका फरक-फरक रूप र प्रकृति संसारभर कायम छ । मार्च ८ लाई लक्षित लेखहरु आज बिहानदेखि धेरै पढेँ, जहाँ महिलाको हिंसाबारे आवाज नउठेका पनि हैनन् । तर ३६५ दिनमा १ दिन उठेको यो आवाजको के काम ? तर परिवर्तन र अधिकार खोजेको त्यो आवाजले जिम्मेवारी बहन गर्न कतिको सक्षम छ ? परिवर्तनको युगमा नारीको महत्व उत्तिकै हुन्छ । तर स्वतन्त्रता मात्र हाम्रो अधिकार सम्झिनु गलत हो ।

आजकै घटना अफिस आइसकेपछि नारी दिवससम्बन्धी एक भिडियो रिपोर्ट बनाउने सोचले आम महिलाको भ्वाइस लिन गएँ । तर बोल्ने महिला पाउनु नै कति मुश्किल र आफ्नै अधिकार र आफ्नाबारे खुलेर बोल्न कति असहज । यो कुरा आजको मात्र हैन समाचारका लागि कुनै महिलाको भ्वाइस राख्न म स्वयंले जोड गरे पनि बोल्ने मान्छे पाइन्न । यसले पनि नारीहरु स्वयं कति पछि छन् भन्ने जनाउँछ ।

फुटपाथमा आफ्नो जीविकोपार्जनका लागि सानो व्यवसाय गरिरहेकी एक दिदीलाई थाहा छैन आज नारी दिवस हो भन्ने । उहाँलाई महिला अधिकार के हो थाहा छैन तर पनि आफैंमा सक्षम हुनुहुन्छ ।

जुन रुपमा नारी आवाजका लागि यो दिवस मनाउन सुरु गरिएको थियो आजभोलि यसको स्वरुप बदलिएको छ । त्यसैले मैले आजको दिनलाई खास सम्झन्नँ । उग्रताको गलत रुप लिएका महिलाको आवाजले सही रुप लिन जरुरी छ । संसार परिवर्तन गर्छु भनेर हिँड्नु अघि पहिले आफू स्वयं परिवर्तन हुन जरुरी छ । जब समाजमा दमन शोषणका कुराहरु खुलेर भन्न सकिन्छ तब मात्र परिवर्तनको महसुस गरौंला । अहिलेको नारी दिवस समाजको शिक्षित वर्गलाई उग्र महिलावादको रुपमा आइरहेको छ भने समाजका अन्य गरिब अशिक्षित पिछडिएको वर्गका लागि सामान्य दिन । अधिकारको नारा लगाउँदै हिँड्ने महिलाभन्दा पिछडिएका महिला जो आफ्नो आत्मनिर्भरताका लागि काम गर्छन, उनीहरु नै परिवर्तनको एउटा गर्विलो आवाज लाग्छ ।

मेरो अधिकार यो र त्यो भन्दै चर्किनुभन्दा सोहीअनुरुप आफ्नो जिम्मेवारी बहन गरेर अघि बढे महिला अधिकार आफैँ आउँछ । अनि जुन दिन परिवर्तनको लागि मेरो, तपाईं र हाम्रो पाइला चल्छ त्यो दिन बल्ल मनाउँला नारी दिवस । अनि सँगै मिलेर लडौँला आफ्नो अधिकारको लागि । एक परिवर्तनको जिम्मेवारी लिँदै महिला दिवसको शुभकामना ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु