गृहपृष्ठ ४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

तनहुँको व्यास नगरपालिका–१० शेवरमा निर्माण हुन लागेको औषधी उद्योगको भवन बुधबार शिलान्यास गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । पोखरा फर्मास्वीटिकल्स प्रालिले रु ४० करोडको लागतमा औषधी उद्योगको भवन निर्माण सुरु गरेको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस

तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ ।

सो प्रालिका अध्यक्ष कालीदास पौडेलले ४० करोड रुपैयाँको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ ।

४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । ‘उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ’, उनले भने, ‘निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।’

उक्त भवनको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उहाँले जानकारी दिए । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विवाह भोजमा हिँडेका एक बालक चितुवाको आक्रमण परी घाइते

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यहाँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात वटा चितुवा नियन्त्रणमा लिइएको छ । (रासस)

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु