गृहपृष्ठ दाङमा वित्तीय अपराध बढ्दै, ९० प्रतिशतमा प्रहरी ‘सफल’
दाङमा वित्तीय अपराध बढ्दै, ९० प्रतिशतमा प्रहरी ‘सफल’
दाङमा वित्तीय अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । ‘विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्,’ जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने,’तर पछिल्ला वर्षमा बढ्दै जान थालेका छन् ।’ उनका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ मा आठवटा मुद्दा दर्ता भएका छन् ।
मुद्दा दर्ता भएका वित्तीय अपराधका घटनामध्ये करिब ९० प्रतिशत व्यक्ति पक्राउ परेको उनको भनाइ छ । केही व्यक्ति भने फरार छन् । सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको संख्या वृद्धि भएसँगै यससम्बन्धी मुद्दा पनि बढ्दै जान थालेको उनको भनाइ छ ।
विश्वासका रुपमा लिएको चेकमा समेत बेइमानी बढेका कारण यस्ता घटना बढ्दै जान थालेको गौतमले बताए । उनका अनुसार दाङमा आव २०७५/७६ मा ११ वटा बैंकिङ अपराधका घटनाका मुद्दा दर्ता भएका थिए ।
जुनसुकै तह र तप्काका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको उनले बताए । ‘आर्थिक कारोबार गर्दा सबै सचेत हुने दिन आएको छ,’ उनले भने । प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको प्रहरी निरीक्षक गौतमले बताए । पीडित र पीडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको जानकारी दिए । (रासस)
प्रकाशित समय १२:४७ बजे

















