गृहपृष्ठ कोरोनामा कालाबजारी : ३६ औषधि पसल र पाँच खाद्य स्टोरलाई कारबाही

कोरोनामा कालाबजारी : ३६ औषधि पसल र पाँच खाद्य स्टोरलाई कारबाही

३१ लाख ४५ हजार जरिवाना

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) ले नेपालमा पनि प्रत्यक्ष असर परेको छ । दिनहुँँ प्रयोग हुने खाद्यवस्तु, ग्यास तथा औषधीलगायतका वस्तुमा संकट देखिन थालेको छ । महामारी फैलनबाट रोक्न छिमेकी मुलुक चीन र भारतले नाकाहरु बन्द गरेपछि नेपालमा बढी प्रभावित भएको हो ।

चीनतर्फका सबै नाका र भारततर्फका १८ नाका बन्द भएपछि नेपालमा खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि सहज रुपमा पाउन छाडेको छ । तर, यसको फाइदा उठाउँदै कालाबजारीयाले कृत्रिम अभाव सिर्जना गरेका छन् । भाइरसबाट बच्न चिकित्सकले सर्जिकल मास्क अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव दिपछि बजारमा मास्कमै ठूलो मात्रामा ठगी भइरहेको छ ।

पाँच रुपैयाँ पर्ने सामान्य सर्जिकल मास्कलाई पनि फार्मेसी सञ्चालकले ५० रुपैयाँभन्दा बढीमा बिक्री गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीव्र रुपमा अनुगमन तथा कारबाही थालेको छ ।

फागुन ११ गतेबाट अनुगमन थालेयता विभागले झन्डै ३ दर्जनभन्दा बढी औषधि पसललाई कारबाही गरिसकेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार अहिलेसम्म ५० भन्दा बढी निजी पसलमा अनुगमन भएको छ । त्यसमध्ये तीन दर्जनभन्दा बढी पसललाई जरिवाना तिराइएको छ । फागुन १८ गतेयताका १४ दिनमा तीन दर्जन औषधि पसल (फार्मेसी तथा साना मेडिकल) र पाँचवटा खाद्य स्टोरलाई कारबाही गरेको उनले जानकारी दिए ।

कारबाहीमा परेका औषधि पसल
विभागले अनुगमन तथा कारबाही सुरु गरेको १० दिनमा काठमाडौंमा ३१ वटा सर्जिकल फार्मेसी तथा तीनवटा खाद्य स्टोरहरु कारबाहीमा परेका छन् । कारबाहीमा केही फार्मेसीलाई २ लाख जरिवाना गरिएको छ भने कतिपयलाई १० हजारभन्दा बढी रुपैयाँ जरिवाना गरिएको छ ।

कारबाहीमा परेका फार्मेसीहरुमा नेपाल केयर सर्जिकल क्षेत्रपाटी, आयुष फार्मेसी वीर अस्पताल, आइज्याक हस्पिटल सपोर्ट क्षेत्रपाटी, विद्या अल्का फार्मेसी (क) पुल्चोक, सदीक्षा मेडिकल मेडिकल हल जावलाखेल, गौतम फार्मेसी सेन्टर पुल्चोक, शुभ सर्जिकल सप्लायर्स कुपन्डोल, पुरु सर्जिकल इक्युपमेन्ट क्षेत्रपाटी, भरोसा फार्मेसी नयाँ बानेश्वर, शुभम् हेल्थ केयर्स प्रोडक्टस् क्षेत्रपाटी, ओएसबी इन्टरप्राइजेज क्षेत्रपाटी र बिबिआर इन्टरप्राइजेजलाई २ लाखका दरले जरिवाना गरेको महानिर्देशक सुवेदीले जानकारी दिए ।

त्यस्तै २९ गते पर्लमार्ट फर्मा (चिरायु पोलिक्लिकनजिकै) थापागाउँ, हाम्रो प्रतिफल फर्मा महाराजगन्ज र श्रीराम फर्मा महाराजगन्जलाई पनि २ लाख र बिबिआर इन्टरप्राइजेज क्षेत्रपाटीलाई १ लाख जरिवाना गरेको विभागले जनाएको छ ।

विभागले दुई सातायता साना दुई दर्जनभन्दा बढी औषधि पसललाई पनि कारबाही गरेको जनाएको छ । कारबाही परेका मेडिकलहरुमा त्रिपुरेश्वरमा रहेको गौतम इन्टरनेसनल, दृष्टि सर्जिकल हाउस, मेडिहेल्थ सर्जिकल, स्वस्तिमा सर्जिकल सप्लायर्स र क्षेत्रपाटीमा रहेको एस जे मोडिको सर्जिकल, काठमाडौं ट्रेड कन्सर्न, स्पेन्डिड ट्रेडर्स, मामा–भान्जा टे«ड कन्सर्नलाई जनही २० हजार रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै केही सर्जिकल पसललाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको विभागले जनाएको छ ।

कारबाहीमा खाद्य स्टोर
विभागले अनुगमन गरेको १० दिनमा उपत्यकाका विभिन्न ठाउँमा ग्याँस विक्रेता कम्पनीहरुलाई १५ हजारका दरले कारबाही गरेको छ । फागुन ३० गते कुलेश्वरको गायत्री स्टोर र ढकाल एन्ड ढकाल स्टोरलाई कारबाही गरेको जनाएको छ ।

चैत १ गते पनि विभागले धेरै खाद्य किराना पसल अनुगमन गरेको छ । केही खाद्य किराना पसललाई कारबाही पनि गरेको छ । कारबाहीमा परेका पसलहरुमा सुविधानगरमा रहेको दिव्यांशु स्टोर र कोटेश्वरमा रहेको सरिता स्टोरलाई जनही ५ हजारका दरले कारबाही गरेको विभागले जनाएको छ । विभागले अहिलेसम्म कालोबजारी गरेको भन्दै व्यवसायीलाई ३१ लाख ४५ हजार रुपैयाँ जरिवानासमेत तिराइसकेको छ ।

विभागका महानिर्देशक सुवेदी कालोबजारी गर्ने, बिलबिजक देखाउन नसक्ने, व्यवसाय दर्ता प्रमाणपत्र नभएकालगायतलाई कानुनी कारबाही गरेको बताउँछन् । ‘यो कालाबजारी नै होइन, कालाबजारी हुनसक्छ भनेर सचेतना स्वरुप सामान्य कारबाही गरेका हौं,’ न्युज कारोबारसँग उनले भने, ‘कोरोना भाइरसको प्रकोप फैलिएका बेला कालोबजारी गरेको फेला परेमा कडाभन्दा कडा कारबाही गरिनेछ ।’

कालोबजारी भएको गुनासो सुन्नेबित्तिकै अनुगमन गर्ने टोलीले आवश्यक कारबाही गरिरहेको उनले बताए । ‘उपभोक्ता संरक्षण ऐन, ०७५’ अनुसार उपभोक्ता संरक्षण ऐनको दफा ३८ (घ) अन्तर्गतको दफा १५ बमोजिमको कसुरमा ३९ (१) (क) अनुसार २६ वटा फार्मेसीलाई कारबाही गरेका हौं,’ उनले भने ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु