गृहपृष्ठ बैंकको साँवा, ब्याज असारसम्म तिर्दा हुने, चैतमै तिरे १० प्रतिशत छुट
बैंकको साँवा, ब्याज असारसम्म तिर्दा हुने, चैतमै तिरे १० प्रतिशत छुट
नोवेल कोरोनाभाइरस (कोभिड‑१९) संक्रमण फैलिन नदिन मुलुक ठप्प हुने गरी सरकारले लकडाउन गरेपछि अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्ममा तिर्न सक्ने गरी सुविधा दिएको हो ।
यद्योगी व्यवसायीले ऋणको साँवा र ब्याज भुक्तानी गर्न असहज भएको भन्दै सरकारसँग सहुलियत माग गर्दै आएका थिए । केन्द्रीय बैंकको निर्णयसँगै चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा जरिवाना नलाग्ने भएको छ ।
चैतमै तिर्न चाहने ऋणीले ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्र पहिचान गरी ती क्षेत्रका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि जनाएको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने व्यवस्था पनि गरेको छ ।
यसअघि, यातायात व्यवसायीले पनि नियमित रुपमा बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज (किस्ता) स्थगन गर्न माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीले आइतबार नै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भेटेर मुलुकमा पूर्ण रुपमा सार्वजनिक यातायात सञ्चालन नभएसम्मका लागि बैंकको सावा ब्याज तिर्न नसक्ने भन्दै स्थगन गर्न माग गरेको थियो ।
सरकारले कोभिड‑१९ को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै चैत ११ देखि लकडाउन गरेको छ भने चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । महासंघका महासचिव सरोज सिटौलाले देश नै लकडाउन भएको अवस्थामा सार्वजनिक सवारी साधनले महिनावारी रुपमा बुझाउँदै आएको किस्ता तिर्न नसक्ने भन्दै तत्कालका लागि किस्ता स्थगन गर्न माग गरिएको बताए । ‘केन्द्रीय बैंकको निर्णयले हामीलाई निकै ठूलो राहत दिएको छ,’ उनले भने । उनीहरुले यातायात मजदुर तथा कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।
प्रकाशित समय २०:५९ बजे

















