गृहपृष्ठ विपत्ति, जसले कसैलाई चिन्दैन

विपत्ति, जसले कसैलाई चिन्दैन

प्रारम्भमा डिसेम्बर ३१ का दिन कोरोनाभाइस (कोभिड १९) बाट दुई जना संक्रमित भएका थिए । ततपश्चात् क्रमश: संक्रमितको संख्या वृद्धि हुँदै गयो । विभिन्न देशहरुले रोकथाम, नियन्त्रण र यसबाट बच्ने उपायहरूको खोजी गर्न थाले । सर्वसाधारणलाई अपिल गरे । तर समस्या दिनानुदिन थपिँदै गयो । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक छ । मानिसहरू अनाहकमा मृत्युवरण गर्न विवश भएका छन् ।

चीनको वुहानबाट फैलिएको महामारी विश्वभर पुगेको छ । संक्रमितको संख्या बाढी जस्तै बढ्दो छ । चिकित्सक, सेना, प्रहरी, राष्ट्रसेवक र आमसमुदाय स्थिति नियन्त्रण गर्न निरन्तर लागि रहँदा पनि परिस्थिति झन् जटिल र प्रतिकूल बन्दै गएको हामी देखिरहेका छौं ।

विश्व परिवेश र परिदृश्यबाट हामीले थुप्रै पाठ सिक्न जरुरी छ । हामी बँच्ने, बाँच्ने र बचाउने भनेको आत्म अनुशासनले नै हो । लकडाउनका मूल्य मान्यताको पालना गरेर जानु नै कोरोनाभाइरस संक्रमणबाट जोगिने उत्तम उपाय हो ।

शक्ति सम्पन्न राष्ट्रहरू प्रारम्भिक चरणमा दोषारोषण गर्नमै अल्झिए । जोखिमको पूर्वतयारीतर्फ खासै ध्यान पुगेन । आवतजावत, हवाई उडान, आन्तरिक तथा बाह्य आवागमन जस्ता विषयप्रति समयमै सजगता अपनाइएन । चीनमा कोरोनाको कोकोहोलो मच्चिँदा विकसित मुलुकले धेरै गर्न सक्थे । औषधीकै अनुसन्धानमा लागेको भए सायद न्यूनीकरणको खोप आउँथ्यो होला । एउटा देशमा आगो सल्किँदा अर्को देशमा राप, धुवाँ र खरानी पनि आइपुग्दैन भन्ने भ्रम हुन गयो । अन्ततोगत्वा विश्वभर आगो सल्कियो । अब रापबाट जोगिनु छ, आगो लाग्नबाट बच्नु छ, कम क्षतिको कामना गर्नु छ । सबैले मिलेर आगो निभाउनु छ । यी र यस्ता महामारीबाट हामीले धेरै सिक्नु छ । हाम्रो अहिलेको उत्तम विकल्प लकडाउन नै हो । लकडाउन कतिसम्म जान्छ निश्चित छैन । यो समयमा सरकार, निजी क्षेत्र र वित्तीय सेवाप्रदायकहरूले गर्नुपर्ने काम थुप्रै छन् ।

कोरोनाको निर्ममताको यो हृदय विदारक अवस्थाबाट हामी पनि सिकौं । सरकारलाई गाली गरेर क्षणिक तुष्टि त मिल्ला तर सजग रहने आफैँ हो । सरकारले पनि पाठ सिकोस् । गर्नुपर्ने काममा कुनै कसर नराखोस् । स्वास्थ्यकर्मीलाई दिने व्यक्तिगत सुरक्षा सामग्री, सेवा, राहत आदि वितरणमा तदारुकता देखियोस् । लकडाउनका कारण बढी अफ्ठ्यारोमा परेका विपन्न तथा दैनिक ज्यालादारी गरिखाने श्रमिकसम्म राहत पुर्‍याउन ढिला गरियोस् ।

‘श्रद्धाको फूल चढाइदिनु आएर लाशमा’ भन्ने आश पनि अधुरै रह्यो इटालीमा कोरोनाबाट दिवंगत हुनेहरुका लागि । आफूसँगै कति आफन्तका लास लस्करमा होलान् । त्यो पनि कुनै पत्तो छैन । सन्तानले रोएर गर्ने अन्तिम बिदाइ पनि गर्न पाएका छैनन् । न माला, न धूप न त बत्ती । धेरैका घरमा सायद बत्ती कहिल्यै नबल्नेगरी निभेको होला ।

विश्वकै प्राचीन सहर इटालीको राजधानी रोम सभ्यताको हिसाबले पुरानो मानिन्छ । रोम सभ्यताको जननी र संस्कृतिको केन्द्र पनि हो । ग्यालिलियो जस्ता वैज्ञानिकलाई जन्माउने इटाली नै हो भने जोसेफ टुची र लुसियानो पेटेक जस्ता विद्वान पनि इटालीमै जन्मेका थिए । इसाई धर्मको केन्द्र इटालीको रोम नै हो । रोम जलिरहँदा बाँसुरी बजाइरहने निरो जस्ता राजा पनि रोमकै थिए । अहिले कोरोनाका कारण सिंगो इटाली र विश्व त्रस्त छ । चीनबाट फैलिएको कोरोनाभाइरसका बारेमा कतिपय देशले उपहास गर्दा यो परिणती भोग्नुपरिरहेछ । रोम आक्रान्त छ, पोपहरु मौन छन् । विपत्ति र विनाशमा साम्राज्यवादीहरुको शक्ति पनि क्षीण हुँदोरहेछ भन्ने गहिरो पाठ सबैले सिकौं ।

झिल्को सानै हुन्छ आगोको तर खरानी पार्छ संसार । कोरोनाको सूक्ष्म जीवाणु (स्व:उत्पत्तिको होस् या मानव निर्मित) विश्व सखाप पार्दै छ । युरोप, अमेरिका र अन्य मुलुकमा कोरोनाले पारेको असर र मृत्यु हुनेको संख्याले हामी सबै मर्माहत भएका छौं । हामी हेरेर पिरोलिन्छौं, मन दुखाउँछौं, स्तब्ध हुन्छौं ।

हामी नारा बनाएर सस्तो लोकप्रियता बटुल्न सिपालु छौं । यो बेला नारा बाँढ्ने बेला होइन । घोषित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको समय हो । हाम्रो कार्यशैली फितलो छ । यतिबेला चिकित्सक तथा सुरक्षाकर्मीलाई सुलभ बनाउनुपर्ने पिपिइको उपलब्धता र खरिद प्रक्रिया नै माखेसाङ्लो बनिरहेको छ सरकारका लागि । कोरोनाभाइसरको यो विकराल स्थितिमा  चीनको ग्वाङ्जाउमा बसेर आफ्नो व्यापार व्यावसाय गरिरहेका गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य नवीन बिकले स्वास्थ्यमन्त्री र मन्त्रालयमाथि करिब ५४ करोड ४८ लाख कमिसन खाएको भन्ने शंकास्पद र तथ्यांकगत रुपमै गम्भीर आरोप लगाएका छन् ।

कोभिड १९ को उपचारका निमित्त छिमेकी मुलुक चीनबाट ल्याइएको मास्क, किट, थर्ममिटरलगायतका पाँच प्रकारका सामान खरिदका निमित्त सरकारले ७१ करोड ४९ लाख तिरेको बताइएको छ । तर उक्त सामान १७ करोडभन्दा अधिक मूल्य नपर्ने र सोही मूल्यमा बिकले नेपालमा पठाउन सक्ने दाबी गरेका छन् ।

खास कुरो के हो । प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका मन्त्री स्वयं सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तो संवेदनशील विषयप्रति पाँडे गाली गर्दै खनिन थालेका छन् । यथार्थ के हो ?

अहिले आफ्नो मान्छे र सरकारको बचाउ गर्ने बेला होइन । विपत्तिविरुद्ध तन, मन र बचनले लाग्ने बेला हो । कोरोना आतंकको यो घडी र पीडामा मलमपट्टि लगाउने कि कमिसन खान दौडने ? यो दुःखको घडीमा पनि कमिसनको तानाबाना बुन्ने र लुट्नेलाई फाँसीबाहेकको अरु सजाय कम मात्र हुनेछ ।

कालको आफ्नै नियम हुन्छ । कालले सृष्टि र संहारको सन्तुलन गर्छ । ‘बूढी मरि भन्नुभन्दा पनि काल पल्क्यो’ भन्ने कुरा चिन्ताको विषय हो । हाम्रो मुलुकमा पाँच जना संक्रमित भए । आशा गरौं, कामना गरौं, अब कोही कोरोनाबाट संक्रमित नहोउन् । हाम्रा निजी अस्पतालहरु संक्रमण चम्केला अनि लुटौंला भनेर च्याँखे थापेर बसेका छन् । अरु तयारी पनि फितलो छ । आफैँ बुझौँ ।

इटाली, स्पेनलगायतका देशहरुमा आफन्त र आत्मीयजन गुमाउनुपर्दा समेत लास देख्न नपाएको स्थिति हामी देखिरहेका छौं । आफ्नाहरूले अन्तिम बिदाइको काँध दिन, संस्कारमा सहभागी हुन र समाधिस्थ गर्न पनि नपाएको अवस्था छ । इटाली, स्पेन, युरोप, अमेरिका र अन्य देशमा कोरोनाका कारण दिवंगतहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

समाचार र सामाजिक सञ्जालका तस्बिरहरुले धेरै कुरा बोलिरहेका छन् । हाम्रो मुलुक हालसम्म सुरक्षित देखिएको छ । विदेशबाट नेपाल आएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई सुरक्षित गर्नु छ । क्वारेन्टाइनमा बसेकाहरुलाई परिस्थितिको संवेदनशीलता बुझिदिन पनि थप आग्रह र निगरानी गर्न जरुरी छ । स्वयंले र आफन्तजनले बुझाउन, बुझ्न र मनन गर्न अत्यावश्यक भइसकेको छ । यो आफू सुरक्षित भएर आफन्त, छिमेकी र सबैलाई सुरक्षित राख्ने घडी हो । अहिलेको सुरक्षित विकल्प हो लकडाउन, लकडाउन र लकडाउन ।

सोमबार दिउँसो ४ बजेसम्ममा विश्वभर ७ लाख ३५ हजार कोरोना संक्रमित छन् । ३४ हजार ८०० को ज्यान गइसकेको छ । सबै मृतआत्माप्रति समवेदना प्रकट गर्दै चिरशान्तिको कामना गरौं । यो बीभत्स र हृदय विदारक दृश्यबाट हामी पाठ सिकौं । आशा गरौं,  हामीले अब दुर्दिन, दुर्दशा र निर्मम नियती देख्न र व्यहोर्न नपरोस् ।

ॐ शान्ति ! ॐ शान्ति !! ॐ शान्ति !!!

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु