गृहपृष्ठ सुदूरपश्चिममा १४ सय ३४ जनाको थ्रोट स्वाब संकलन
सुदूरपश्चिममा १४ सय ३४ जनाको थ्रोट स्वाब संकलन
स्वाब संकलन गरिँदै । (फाइल तस्बिर)
विभिन्न अध्ययन र अनुसन्धानले सुदूरपश्चिम प्रदेशलाई कोरोना भाइरस (कोभिड- १९) को उच्च जोखिममा देखाएपछि अहिले कैलाली र कञ्चनपुरसहित पहाडी जिल्लामा धमाधम स्वाब परीक्षण भइरहेको छ ।
संघीय सरकारले कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गर्ने निर्णय गरेको ५ दिनमा सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ३४ जनाको थ्रोट स्वाब र रगतको नमूना संकलन गरिएको छ । नमूना परीक्षणका लागि संघीय सरकारले कोरोना भाइरसको परिक्षण ७ वटै प्रदेशमा ५ हजारका दरले किट पठाएको थियो ।
त्यसमध्ये सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनुरमा एक सय ७९ जनाको थ्रोट स्वाब र रगतको नमूना संकलन गरेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । उनका अनुसार ५ हजार किटबाट १ सय कैलाली र ७९ कञ्चनपरमा संकलन भएको हो ।
प्रदेश सरकारले भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका कैलाली र कञ्चनपुरसहित अन्य पहाडी ७ जिल्लाबाट अहिले १ हजार २ सय ५५ जनाको थ्रोट स्वाब र रगतको नमूना संकलन गरेको छ । बिहीबार मात्रै कैलालीमा सुरक्षाकर्मी र प्रशासनिक निकायका कर्मचारी गरी दुई सय २० जनाको ¥यापिड टेस्ट गरिएको छ भने कञ्चनपुरमा एक सय २१ जनाको परीक्षण गरिएको छ ।
अहिले पनि डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा र दार्चुलामा क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन भइरहेको सामाजिक विकासमन्त्री सुवेदीले बताए । प्रदेशबाट थ्रोट स्वाब र रगतको नमूना संकलन गरिएका १ हजार ४ सय ३४ जनामध्ये ३ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी १ हजार ७२ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रकाशित समय २०:२४ बजे
















