गृहपृष्ठ पहिला जीवन बचाऔं, त्यसपछि जीडीपी बचाउँला
पहिला जीवन बचाऔं, त्यसपछि जीडीपी बचाउँला
अहिलेको अवस्था कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिसाब गर्नेभन्दा पनि जीवनको हिसाबकिताब गर्ने समय हो । पहिला जीवन बचाऔं, अनि जीडीपी जोडौंला । त्यही भएरै विश्वभरिका सरकारहरूले नागरिकको जीवन बचाउनका लागि प्रयास गरिरहेका छन् ।
यतिबेला विश्व नै नयाँ किसिमको स्वास्थ्य संकटसँग जुझिरहेको छ । नव कोरानो भाइरस (कोभिड–१९) का कारण विश्वका २०० भन्दा अधिक देशका १८ लाख ५३ हजार व्यक्तिहरू संक्रमित भइसकेका छन् भने सोमबार बिहानसम्म १ लाख १४ हजार जनाको मृत्यु भइसकेको छ । यसअघि केही नेपाली चिकित्सक र चिकित्सा क्षेत्रका अनुसन्धानकर्ताहरूले यो भाइरसका कारण भइरहेको मृत्युदर यसअघिका अन्य महामारीकोभन्दा कम रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको ठोकुवा गर्दै आएकोमा बढ्दो विश्व संक्रमणसँगै उनीहरूले पनि बोली फेरेका छन् । सबैभन्दा चिन्तालाग्दो विषय त नेपालसँग १८०० किलोमिटर लामो खुल्ला सीमाना रहेको छिमेकी मुलुक भारतमा यो भाइरसको संक्रमण तीव्रगतिले विस्तारित हुँदैछ । सोमबार बिहानसम्म भारतमा ९ हजार २०५ व्यक्तिहरूमा यसको संक्रमण पुष्टि भइसकेको छ भने ३३१ जनाको मृत्यु भइसकेको छ, स्वास्थ्य परीक्षणसम्म नपुगेको ‘अनरिपोर्टेड केस’ यसको तीन गुणा बढी भएको अनुमान छ ।
नेपालमा हालसम्म १३ जनामा कोरोना भाइरसको संक्रमण देखापरिसकेको छ, यीमध्ये चार जना भारतबाटै आएका हुन् र एक जना भारतबाट आएका व्यक्तिबाट परिवारमा सरेको संक्रमण हो । यसको सोझो अर्थ हामी उच्च जोखिमको क्षेत्रमा, बारुदको थुप्रोमाथि छौं । अहिलेसम्म न्यून संक्रमणको अवस्था छ भनेर ढुक्क हुने अवस्था छैन र त्यो बेला पनि होइन । वर्तमान जोखिमबाट बच्ने प्रभावकारी दुईमात्र उपाय छन्, लकडाउन गर्ने, सम्भावित संक्रमितहरू पहिचान गर्न व्यापक परीक्षण गर्ने ।
यो विश्व स्वास्थ्य संकटका कारण विश्वकै अर्थतन्त्र महामन्दीमा फस्ने अवस्थामा नेपाल पक्कै पनि अछुतो रहन सक्ने अवस्था छैन । भर्खरैमात्र विश्व बैंकले यो विश्व संकटको प्रभावका कारण यथाअवस्थामा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत र स्थिति अझ बिग्रेको खण्डमा १.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यसअघि एसियाली विकास बैंक (एडीबी)ले ४.३ देखि ५.३ प्रतिशतका बीचमा रहने बताएको थियो । यो नेपाली आर्थिक वर्ष २०७६÷७७ का लागि प्रक्षेपण हो । सरकारले ८.५ प्रतिशतको वृद्धिदरको लक्ष्य राखेकोमा धानबालीमा आएको कमीसहितका कारणले ७ प्रतिशतजतिको वृद्धिदर हासिल हुने आशा राख्दै आएको थियो । पहिलो ६ महिनाको केन्द्रीय तथ्यांक विभागको विश्लेषणले भने ६ प्रतिशतजतिको आर्थिक वृद्धिदर हासिल हुनसक्ने देखाएको छ । आर्थिक वर्षका पहिलो ८ महिना अर्थतन्त्र सामान्य अवस्थामा नै हिडिरहेका कारणले आर्थिक वृद्धिदर विश्व आर्थिक संस्थाहरूले अनुमान गरेको तहसम्म नझर्न पनि सक्छ । यसमा हाम्रो अर्थतन्त्रको एकलकाँटे चरित्रको पनि भूमिका रहन्छ ।
अहिलेको अवस्था कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिसाब गर्नेभन्दा पनि जीवनको हिसाबकिताब गर्ने समय हो । पहिला जीवन बचाऔं, अनि जीडीपी जोडौंला । त्यही भएरै विश्वभरिका सरकारहरूले नागरिकको जीवन बचाउनका लागि प्रयास गरिरहेका छन् । नेपाल सरकारले पनि आफ्नो बलबुत्ताले भ्याएसम्म गरिरहेकै छ । कामना गरौं– नव वर्ष २०७७ को आरम्भसँगै यो विश्व महामारीसँग जुझ्न विश्व समुदाय सफल होस् र नयाँ ढाँचा तथा संरचनाको विश्व व्यवस्थामा हामी आफूलाई सबल र सक्षम रूपमा उभ्याउन सकौं । अहिलेको विश्वको स्वास्थ्य संकट वर्तमान विश्व संरचनाका कमजोरीहरू सच्याउने अवसर पनि हो । यसले न कुनै शक्ति राष्ट्र भन्यो न गरिब र अल्पविकसित राष्ट्र भनेरै छुट्यो । लकडाउनहरू बढाइएको, यात्राहरूमा रोक लगाइएकै कारण अहिले विश्व पर्यावरणीय रुपमा स्वथ्य हुने मौका मिलेको छ । समुद्र किनारहरूमा फेरि व्हेल, सार्क र अन्य समुद्री जीवनको चहलपहल बढेको छ । अब विश्व स्वास्थ्यसँगै, विश्व वातावरणको पुनर्बहालीका पनि यसले मौका दिएको छ । यस अर्थमा विश्व स्वास्थ्य संकट हरित स्वस्थ र सन्तुलित विश्व विकासको अवसर पनि बन्न सकोस् ।
न्युज कारोबार परिवार सम्पूर्ण पाठकवृन्द, विज्ञापनदाता, शुभचिन्तक र समस्त देशवासीहरूमा यो विश्व स्वास्थ्य संकटसँग जुझेर फेरि जीवन र जगतमा स्वस्थ्य, सबल र सक्षम रूपमा उभिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछाैं ।
प्रकाशित समय ११:०९ बजे

















