गृहपृष्ठ सीमापारिका नेपालीलाई भित्र्याउने क्षमता सरकारसँग छैन ?
सीमापारिका नेपालीलाई भित्र्याउने क्षमता सरकारसँग छैन ?
प्रधानमन्त्रीज्यू,
सर्वप्रथम, तपाईं हालसालै मात्रै मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर बस्नुभएको छ, म तपाईंको स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहन्छु ।
विश्व अहिले कोरोनाभाइरसको त्रासमा छ । विज्ञान र प्रविधिको भरपुर विकास गरेका शक्तिशाली मुलुकहरु पनि यो भाइरसबाट प्रताडित छन् । विश्वका कुनै पनि मुलुक होला, जहाँ यो भाइरस नपुगेको होस् । चीनको एउटा प्रान्तबाट सुरु भएर विश्वभर फैलिएको कोरोनाभाइरसले अहिले विश्वका सबै मानिस त्रासमा बसेका छन् । यो विश्वले नै भोगेको शताब्दियौँपछिको ठूलो महामारी हो । अहिलेको बेला हामी नेपाली पनि त्यसबाट अछुतो छैनौँ । स्वदेश वा विदेशमा बस्ने सबै नेपाली अहिले कोरोनाको त्रासमा छन् ।
तीन सातादेखि हामी सबै लकडाउनमा बसेका छौँ । कोरोनाभाइरसको औषधी पत्ता लागिनसकेको अहिलेको अवस्थामा लकडाउन वा भौतिक दूरी कायम गर्नु नै संक्रमण फैलिनबाट रोक्ने उत्तम उपाय हो । लकडाउनलाई पालना गर्ने हामी सबैको कर्तव्य पनि हो, जसलाई सारा नेपालीले पालना गरेका पनि छन् । यो महाव्याधीको समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुको साथ र सहयोग सरकारलाई छ । सरकारलाई थप ऊर्जा मिलोस् भनेर महाव्याधी रोकथाममा चुस्तता प्रस्तुत गर्न प्रतिपक्षी दलले सरकारलाई पटक पटक सम्झाउँदै आएको छ ।
प्रधानमन्त्रीज्यू,
तपाईंलाई हाम्रो साथ छ भन्नुको अर्थ तपाईं चुपचाप बालुवाटार बस्नुहोस् भन्ने अर्थमा नबुझ्नु होला । तपाईंको नेतृत्वका संयन्त्रहरु अहिले स्वदेश र विदेशमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले भोगेको समस्या समाधान गर्न तत्पर हुनुपर्छ, जुन तत्परता सरकारमा अहिले देखिएको छैन । कांग्रेस जनसम्पर्क समन्वय विभागको संयोजक पनि भएको नाताले विदेशमा बस्नुहुने जो कोही नेपालीका बारेमा मैले सन्चो बिसन्चो सोध्नुपर्ने हुन्छ र अहिले सोधिरहेको पनि छु ।
मुलुक लकडाउनमा छ भनेर एउटा सामान्य मानिस घरभित्र बस्न सक्छ । तर, तपाईं तीन करोड जनतामाथि शासन गर्ने व्यक्ति लकडाउन छ भनेर कानमा तेल हालेर बस्न मिल्दैन । दैनिक समाचारहरु तपाईंले पक्कै पनि हेर्नुभएको होला । नेपालमा रहेका सबै विदेशी विमान चार्टड गरेर आआफ्नो देश गइसकेका छन् । त्यो पहल उनीहरुका देशले नै गरेका छन् । नेपालीहरु पनि विश्वका विभिन्न देशमा अध्ययन, रोजगारीलगायतका विभिन्न भूमिकामा छन् । अझ गल्फलगायतका मुलुकमा रोजगारीमा रहेका ३० लाखभन्दा बढी नेपालीहरुले आर्जन गरेको कमाइ वैदेशिक मुद्रा सञ्चिति र समग्रमा हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै हो ।
सरकार के हो ? सरकार किन चाहिन्छ ? भन्ने कुरा यस्तै महामारीमा राज्यले आफ्ना नागरिकप्रति गर्ने व्यवहारले देखाउने हो । राज्यका लागि आफ्ना नागरिक भौगोलिक सीमाभित्र भएका मात्रै होइन, विश्वका जुनसुकै कुनामा रहेका नेपाली राहदानी बोकेका सबैको यो महाव्याधीको समयमा सुरक्षा दिनु राज्यको कर्तव्य हो ।
तर, सरकारको काम कारबाहीले नागरिकले आफ्नो नागरिकताप्रति गर्व गर्न सक्ने वातावरण बनेको देखिएको छैन । नेपालमा रहेका अमेरिकी, बेलायतीलगायतका नागरिक उनीहरुका देशले नै विमान चार्टड गरेर आफ्नो देश लगिसकेका छन् । तर, तपाईंले महाकाली पारि सीमामा आएर हामी आफ्नो देशमा पाइला टेक्न चाहन्छौँ भनेका दाजुभाइ दिदीबहिनीलाई समेत प्रहरी लगाएर पारि नै खेद्नुभएको छ । नेपाल आउन सीमामा आएका ती नेपाली दाजुभाइलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्ने क्षमता के सरकारसँग छैन ? छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो देश फर्कन चाहन्छन् । उनीहरुलाई नेपाल ल्याउने सरकारको दायित्व हुन्छ कि हुँदैन ?
खाडी मुलुकमा रोजगारीमा गएका कतिपय नेपाली कामदारलाई रोजगारदाता कम्पनीले घर फर्कन भनेका छन् । के तिनीहरुलाई आफ्नो देश ल्याउन सरकारले पहल गर्नु पर्दैन ? अध्ययनको सिलसिलामा विदेशमा रहेकालाई कलेजका होस्टलले अहिले निकालेको अवस्था छ । उनीहरुसँग पैसा सकिएर दैनिक गुजारामा समस्या दिनदिनै बढेको छ । तपाईंका विदेशस्थित दूतावासहरु के गरिरहेका छन् ?
प्रधानमन्त्रीज्यू,
कोरोनाभाइरसको महाव्याधीको अहिलेको अवस्थामा कांग्रेस कार्यकर्ता र नेपाली नागरिक हुनुको नाताले तपाईंलाई यो पत्र लेख्दैछु । म सरकारसँग जतिसक्दो चाँडो निम्नबमोजिमको काम गर्न यो पत्रमार्फत सात बुँदे विशेष आग्रह गर्न चाहन्छु ।
१. विश्वभर कोरोनाभाइरस संक्रमणको संख्या बढ्दो क्रममा छ । जसका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या पैदा भएको छ । विभिन्न देशमा रहेका नेपाली, जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस् । खाडीका कतार, यूएई, ओमन, बहराइन र मलेसियालगायतका मुलुकबाट पनि कामदार नेपाल आउन पहल गरिरहेका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, साइप्रस, माल्टालगायतका मुलुकमा रहेका विद्यार्थी खर्च सकिएर बसिरहेका छन् । उनीहरुलाई तत्काल कूटनीतिक पहल गरेर विमान चार्टड गरेर भए पनि नेपाल ल्याउने व्यवस्था गरियोस् ।
२. गल्फमा नेपाली ठूलो संख्यामा रोजगारीमा छन् । अहिले कुवेत सरकारले फर्कन चाहने कामदारलाई निःशुल्क टिकट दिने व्यवस्था गरेको छ । त्यहाँ रहेका विदेशी कामदारलाई आआफ्ना देशले फिर्ता गर्न थालिसकेका छन् । तसर्थ नेपाल सरकारले तत्काल त्यस्ता मुलुकमा कूटनीतिक पहल गरेर आफ्ना नागरिक जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई फिर्ता ल्याउने प्रबन्ध गरियोस् ।
३. विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरुलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रबन्ध तत्काल गर्न आवश्यक छ । होटल व्यवसायी, स्कुल र कलेज सञ्चालकले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने भनेका छन् । सरकारले तत्काल काठमाडौँलगायतका अन्य क्षेत्रका होटल र स्कुल वा कलेजलाई आवश्यकताअनुसार क्वारेन्टाइन बनाओस् । जसले विदेशबाट आएका नेपाली दाजुभाइ दिदीबहिनीलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्न सकियोस् ।
४. विदेशमा बस्ने नेपालीले अहिले भोगेको अर्को समस्या भिसा पनि हो । भिसा सकिएका नेपाली धेरै मुलुकमा छन् । उनीहरुलाई नेपाल ल्याउने वा निश्चित समयका लागि भिसा थप्ने कूटनीतिक पहल सरकारले तत्काल गरोस् ।
५. अहिले सरकारी ढुकुटीमा पैसा हुँदाहुँदै पनि लकडाउनबाहेक अन्य उपाय सरकारले अपनाउन सकेको देखिएको छैन । कोरोनाभाइरस संक्रमणको संख्याको आंकलन गरी तत्काल प्रताडित समुदायको पहिचान गरी प्याकेज कार्यक्रम घोषणा गरेर काम अघि बढाइयोस् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्ने समाचार आइरहेका छन् । महामारीको समयमा मुद्रातर्फ ध्यान जानु ठूलो अपराध हो । आवश्यक स्वास्थ्य सामग्री, भेन्टिलेटर, गुणस्तरीय कोरोना परीक्षण किट तत्काल खरिद गरेर तयारी चुस्त बनोस् । स्वास्थ्य सामग्रीको गुणस्तरमा सम्झौता गर्ने अधिकार सरकारलाई छैन । किटका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको मात्रै खरिद गर्नेगरी मापदण्ड बनाइयोस् ।
६. महाव्याधी लम्बिँदै गयो भने वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रोजगारी गुम्ने खतरा छ । त्यसको पूर्वतयारी स्वरुप सरकारले अहिले नै उनीहरुका लागि रोजगारीको विशेष कार्यक्रमको तयारी सुरु गर्न आवश्यक छ । म सरकारलाई वैदेशिक रोजगारीबाट जागिर गुमेर फर्केका नेपालीलाई स्वरोजगार वा अन्य रोजगारीको कार्यक्रम तर्जुमा गर्न आग्रह गर्छु ।
७. विश्वभर नै स्वास्थ्यकर्मी र मेडिकल सामग्रीको अभाव छ । यस्तो अवस्थामा खाडीलगायतका अन्य मुलुकमा रोजगारीमा रहेका नेपाली बिरामी परेमा उपचार हुन नसक्ने अवस्था आउन सक्छ । सीमित स्रोत साधन हुँदा पक्कै पनि उनीहरुले आफ्ना मुलुकका नागरिकलाई प्राथमिकतामा राखेर उपचार गर्न सक्छन् । त्यसैले यस विषयमा पनि सम्बन्धित मुलुकमा कूटनीतिक पहल गरेर उपचारमा भेदभाव नगर्ने नीति लिन सम्बन्धित देशलाई आग्रह गर्न आवश्यक छ ।
प्रकाशित समय २०:३३ बजे

















