गृहपृष्ठ सबै जिल्लामा ‘आरडीटी’ परीक्षण सुरु, स्वास्थ्यको स्वमूल्यांकन गर्ने बढे

सबै जिल्लामा ‘आरडीटी’ परीक्षण सुरु, स्वास्थ्यको स्वमूल्यांकन गर्ने बढे

कोभिड-१९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पीसीआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जनाएको छ ।

मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आइसोलेसनमा बसेकाको संख्या ११७ रहेकामा काठमाडौँ उपत्यकाभित्र पाँच र बाहिर ११२ रहेका छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको प्रवक्ता देवकोटाले बताए ।

मोबाइल एप्लिकेसन र वेबसाइटमा स्वास्थ्यको स्वमूल्यांकन गर्नेको संख्या २० हजार १३० पुगेको छ । २४ घण्टामा मात्र एक हजार ११८ जनाले स्वमूल्यांकन गरेका थिए । उनीहरुमध्ये तीन सम्भावित संक्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको संख्या मुलुकभर हालसम्म २५४ जना रहेको छ ।

शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ- १९ संक्रमण हुनेको संख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला संक्रमणबाट पुष्टि भएका हुन् । कूल संक्रमितमध्ये उपचारपछि निको भइ दुई जना घर फर्किसकेका छन् भने २८ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका मध्ये एक जना किशोरी निको भइ घर फर्केकी छन् ।

विभिन्न जिल्लामा द्रुतमार्गबाट गरिने र्‍यापिड डायग्नोष्टिक भइरहेको र त्यसमा पोजेटिभ देखिएकाको पीसीआर प्रविधिबाट परीक्षण जारी छ । संक्रमित टेकु अस्पतालमा एक, पाटनमा दुई, बाल रोगमा दुई, धनगढीमा पाँच, वीगञ्जमा चार, भरतपुरमा दुई र विराटनगरमा १२ जनाको उपचार भइरहेको छ । ती सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोभिड- १९ संक्रमण भएका व्यक्तिको नाम सार्वजनिक नर्गन सबै सञ्चारमध्यमसँग स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । लकडाउनको प्रभावबाट असहज महसुस गरेका बालबालिका र किशोरकिशारीलाई रमाइलो वातावरण सृजना गरी घरभित्रै रहन सुझाव दिइएको छ ।

टेकुमा कोभिड-१९ संक्रमणलाई परास्त गरी निको भएर घर जाँदै गरेकी किशोरी प्रसिद्धि श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन आदेश पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गरेकी छन् । उनले उपचारमा रहेका बिरामीलाई उच्च मनोवल राख्न सुझाव पनि दिइन् ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु