गृहपृष्ठ संक्रमण गाउँ पुग्यो भने जिम्मा लिन्छौँ : पदम थापामगर
संक्रमण गाउँ पुग्यो भने जिम्मा लिन्छौँ : पदम थापामगर
काठमाडौँपूर्व रामेछाप, ओखलढुंगा, दोलखालगायत जिल्लाका बासिन्दालाई स्थानीय स्तरका नेताले रातिराति धमाधम घर लगिरहेका छन् । कलंकीबाट पश्चिमका जिल्लामा यसैगरी मान्छे गाडी चढाइँदैछ । यी मानिस लकडाउन उल्लंघन गर्दै किन ओसारिँदैछ ? के सबै खान नसकेर र कोठाभाडा तिर्न नसकेर गाउँ फर्किंदैछन् ? गाउँ लैजाँदै गर्दा उनीहरूको स्वास्थ्य सुरक्षाप्रति स्थानीय नेता कति जिम्मेवार देखिएका छन् ? यिनै विषयमा भक्तपुरको कौशलटारमा भेटिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य पदम थापामगरसँग डीआर आचार्यले गरेको कुराकानी :
यी मानिसलाई किन गाउँ लैजाँदै हुनुहुन्छ ?
काठमाडौंमा बसेका यी मानिस हाम्रा जिल्लाबासी दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ । उहाँहरूले हामीलाई काठमाडौँमा बस्न गाह्रो भयो, काठमाडौँका वडाले बाँडेको चार किलो चामलले पुगेन । यहीँ मर्ने स्थिति आयो भनेपछि लैजान लागेका हौँ । आफ्ना दाजुभाइ, दिदीबहिनीको जीवन रक्षाका लागि पनि यो कदम चाल्नुपर्ने स्थिति आयो ।
यी मानिसले राहत पाएका छैनन् भन्न खोज्नुभएको हो ?
सबैले होइन तर धेरैले पाएका छैनन् । तपाईंले अहिले देख्नुभएका अधिकांश मानिस मजदुर हुन् । यिनीहरू सबैले नागरिकता बोकेका पनि छैनन् । अनि कसरी पाउँछन् राहत । त्यही पनि दुई‑चार किलो चामलले कति दिन पुग्छ तपाईं नै भन्नुहोस् ?
तपाईंहरूले यसरी मानिस लैजाँदा कस्तो समन्वय गर्नुभएको छ ?
हामीले सम्बन्धित गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरेर लगिरहेका छौँ । उहाँहरूले जिल्लाबासीलाई अफ्ठ्यारो पर्न नदिऊँ, लैजाऊँ भनेपछि हिजोदेखि लैजान थालेका हौँ ।
यहाँ कुन स्थानीय तहका कति मानिस छन् ?
कौशलटार र गठ्ठाघरमा गरी सुनापति गाउँपालिकाका पाँच सय जति होलान् ।
कस्ता मान्छे लाँदै हुनुहुन्छ ?
हामी अति विपन्न जो काठमाडौँमा बसेर अब उप्रान्त जीवन धान्न सक्दैनन्, उनीहरूलाई लैजाँदै छौँ । यसमा केही खान सक्ने पनि होलान् ।
तपाईंसँग त्यस्ता मान्छेको तथ्यांक छ ?
छैन । तर, हामीलाई हाम्रा जिल्लाबासी को कस्ता छन्, को धनी छन्, को गरिब छन्, को अतिगरिब छन् सबै थाहा छ ।
स्थानीय तह गठन भएको तीन वर्ष पुग्यो, अहिलेसम्म यस्तो तथ्यांकसहितको गाउँ प्रोफाइल बनाउन कहिल्यै विगतमा सुझाव दिनुभयो ?
विगतमा दिइएन । अहिले महसुस भइरहेको छ । अब दिन्छौँ ।
राति लैजाँदा हिजो गाडी दुर्घटना भयो, दिउँसोचाहिँ किन लानुहुन्न ?
सबै कुरा मिलाउनुपर्यो नि सर । दिउँसो लैजान समस्या हुन्छ । गाडी आउन पाउँदैन ।
अनि राति चाहिँ लकडाउन खुला हुने हो ?
होइन । तर केही सजिलो हुन्छ ।

तपाईंहरूले खसीबोका जस्तै गरी मानिस खाँदेर लैजाँदा एक जनामा कोरोनाभाइरस संक्रमण रहेछ भने सबैमा सर्न सक्छ, किन ध्यान दिइरहनुभएको छैन ?
हामी पहिला उनीहरूको जीवन रक्षा गर्न चाहन्छौँ । उहाँ पुगेपछि सम्बन्धित स्थानीय तह र वडा कार्यालयले व्यवस्था गर्छन् । होम क्वारेन्टिनमा राख्ने व्यवस्था उनीहरूले मिलाएका छन् । थर्मल गनले ज्वरो जाँचेर मात्र वडामा भित्रिन दिन्छन् । ज्वरो भेटिए विशेष निगरानीमा राख्छन् ।
हामी कामना गर्छौं यस्तो नभइदेओस् तर दुर्भाग्यवस यसरी गएकामध्ये एक जनामा मात्रै कोरोनाभाइरस संक्रमण रहेछ भने पूरै गाउँ सखाप हुनसक्छ, यसतर्फ किन सोच्नुभएन ?
हामी पहिला उहाँहरूलाई गाउँ पुर्याउन चाहन्छौँ, खान नपाएर मर्न दिन्नौँ । उहाँ जे हुन्छ, सहन्छौँ ।
यी सबै मानिसमा कथंकदाचित संक्रमण देखियो भने जिम्मा लिनुहुन्छ ?
(एकछिन सोचेर) पालिकाले जिम्मा लिन्छौँ भनेरै लैजानका लागि हामीसँग समन्वय गरेका हुन् । हामी जिम्मा लिन्छौँ ।
यति धेरै तनाव लिनुभन्दा एकपटकमा थोरै मानिसलाई मात्र सम्पर्क गरेर, ज्वरो परीक्षण गरेर, सिटमा मात्र बसाएर, गाडीमा चढ्नुअघि हातमा स्यानिटाइजर लगाएर केन्द्र सरकारसँग समन्वय गररै लान सकिन्थ्यो, त्यस्तो किन सोच्नुभएन ?
त्यो सबै सम्भव भएन । हामीसँग पर्याप्त साधन स्रोत छैन ।
तपाईंहरूकै दल सरकारमा छ, केन्द्र सरकारको लकडाउनको निर्णयविरुद्ध जानु गलत हुँदैन ?
हामीले अहिले स्थानीयको जीउज्यानको सुरक्षालाई मात्रै प्राथमिकता दिएका छौँ ।
मैले तपाईंहरूको नियतमा होइन, प्रक्रियामा प्रश्न उठाइरहेको छु ।
मैले बुझेँ । तर, हामी उहाँ पुर्याएर सही व्यवस्थापन गर्छौं ।
प्रकाशित समय २१:०२ बजे

















