गृहपृष्ठ सुदूरपश्चिममा ११ दिनयता भेटिएनन् नयाँ संक्रमित

सुदूरपश्चिममा ११ दिनयता भेटिएनन् नयाँ संक्रमित

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण गर्न १० हजार ८३९ जनाको नमूना संकलन गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्ने गरी १० हजार ८३९ व्यक्तिको नमूना संकलन गरिएको हो ।

आरडीटी विधिमार्फत कोरोना परीक्षणका लागि ८ हजार २०३ र पीसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना संकलन गरिएको हो । र्‍यापिड टेष्टबाट ५ जनामा पोजेटिभ देखिएको थियो भने र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकामध्ये पीसीआरबाट १ जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले जानकारी दिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरसको नयाँ संक्रमित देखापरेका छैनन् ।

तीन डिस्चार्ज, दुई उपचारमा

प्रदेशमा कोरोना संक्रमण देखिएका पहिलो व्यक्ति हुन् अमृत शाही । उनी प्रादेशिक अस्पतालमा २८ दिन बसेर वैशाख ९ गतेमात्र डिस्चार्ज भएका छन् । उनीभन्दा पछि चैत २२ मा कोरोना पुष्टि भएका लम्कीचुहा नगरपालिका- ९ का राज विक वैशाख ७ गते डिस्चार्ज भएका थिए । वैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका ४२ वर्षीय इन्द्र विक डिस्चार्ज भएका छन् । प्रदेशमा ५ संक्रमित रहेकामा २ महिला मात्रै हाल उपचारमा छन् ।

सेती प्रादेशिक अस्पतालले दुवै महिलाको अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालमा हालसम्म ३८ जना शंकास्पद व्यक्तिको उपचार भएको जनाइएको छ । पछिल्लो २४ घण्टायता नयाँ शंकास्पद व्यक्तिहरु नरहेको जानकारी दिइएको छ । प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने ६ जना अझै आइसोलेसनमै छन् ।

प्रदेशमा ३२२ स्थानमा ६ हजार ७२८ शय्याको क्वारेन्टाइन सञ्चालनमा छ । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु