गृहपृष्ठ नेकपा विवादले लियो अर्को मोड, बहुमतका लागि हस्ताक्षर जुटाइँदै

नेकपा विवादले लियो अर्को मोड, बहुमतका लागि हस्ताक्षर जुटाइँदै

प्रधानमन्त्री ओलीको समर्थनमा ६० सांसदले हस्ताक्षर गरेको दावी

विश्व नै कोरोनाभाइरस महामारीको चपेटामा छ । यसबाट नेपालसमेत अछुतो छैन । यो विषम परिस्थितबाट कसरी पार पाउने ? भन्नेमा सबैको चिन्ता छ । महामारी अन्त्य भइहाले पनि त्यसपछि देखापर्ने आर्थिक संकट र मन्दीकाे त्रास उस्तै छ । यतिखेर हरेक मुलुकले सम्पूर्ण राज्य संयन्त्र कोरोना विरूद्धको युद्धमा एकत्रित गरेको छ ।

तर, नेपालमा भने दृष्य अलि भिन्न छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले सरकार नै फेरबदल होला कि भन्नेसम्मको संशय पैदा गराएको छ । नेकपाका एक अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘एकलाैटी’ रूपमा दुई अध्यादेश ल्याएपछि सतहमा आएको विवाद केही दिनयता छताछुल्ल बनेको छ । पार्टीभित्रको चर्काे आन्तरिक गुटबन्दी छ ।

ओलीको कदमबाट असन्तुष्ट बनेको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गाैतम समूहले स्थायी कमिती बैठकको माग गर्दै आएका छन् । तर, केही सदस्य संख्याको हिसाबले केही ‘कमजोर’ देखिएको ओली पक्ष बैठक टार्ने प्रयासमा छ ।

मंगलबार दुई अध्यक्षबीच भएको भेटवार्तामा स्थायी कमिटी बैठक बस्नेबारे सहमति भएको भनिए पनि आज भने घटना क्रमले अर्कै मोड लिएको बताइएको छ । संसदीय दल र पार्टी दुवैतिर आफ्नो पक्षमा बहुमत जुटाउन अध्यक्ष ओली समूहले कसरत थालेकाे छ ।

यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदहरुसँगको भेट तथा छलफललाई तीव्रता दिएका मात्र दिएका छैनन् आवश्यक परे बहुमतको दस्तावेज देखाउनेगरी  सांसदको हस्ताक्षर समेत गराइएको छ। बुधबार बिहानसम्‍म प्रतिनिधिसभा र राष्ट्रियसभाका ६० भन्दा बढी सांसदहरुले हस्ताक्षर गरिसकेको ओलीनिकट नेताहरूको दावी छ ।

नेकपाको सचिवालय बैठक बुधबार साँझ ५ बजेका लागि डाकिएको छ । बैठकमा ओलीले आफ्नो पक्षमा बहुमत सदस्यकाे समर्थन रहेकाे देखाउने तयारी गरेकाे स्रोतले बतायाे । स्राेतका अनुसार ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने रणनीतिमा छन् ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु