गृहपृष्ठ आर्थिक वृद्धिदर २.३ प्रतिशतमात्र रहने प्रक्षेपण

आर्थिक वृद्धिदर २.३ प्रतिशतमात्र रहने प्रक्षेपण

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ, यो आधारभूत मूल्यमा हो भने उपभोक्ता मूल्यमा  आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने अनुमान गरिएको छ । यो विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको अनुमानबराबर हो ।

विश्वव्यापी रुपमा देखापरेको विश्व स्वास्थ्य महामारी (कोभिड–१९)का कारण आर्थिक गतिविधिहरू खुम्चिएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको संशोधित अनुमान छ ।

‘हाल विश्वमा देखिएको कोभिड–१९को महामारीको असरलाई न्यून गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ विभागले भनेको छ ।

यसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा चालू आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तरराष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्य सम्ममा अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरू जेठबाट क्रमशः नियमित हुने विश्वास गरि अनुमान तयार गरिएको विभागले जानकारी दिएको छ ।

आधारभूत मूल्यमा १.८ प्रतिशत र स्थिर मूल्यमा २.३ प्रतिशतका बीचमा आर्थिक वृद्धिदर कायम हुने विभागका प्रारम्भिक गणनाले देखाए पनि त्यसमा समायोजन गरि २.५ प्रतिशतको वृद्धिदर देखाइएको हो ।

यो प्रारम्भिक अनुमान हो । यस अनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रूपैयाँबराबर पुगेको छ, जुन गत आर्थिक वर्षमा ३४ खर्ब ५८ अर्ब रूपैयाँबराबर थियो ।

विभागका अनुसार कोभिड–१९का असरले होटल तथा रेष्टुँरा क्षेत्रमा १६.३० प्रतिशतले गिरावट आउने छ ।

यसैगरि विगत एक महिनादेखि यातायातसहितका गतिविधि प्रभावित भएको कारणले यातायात, सञ्चार तथा भण्डारण क्षेत्रमा २.४५ प्रतिशतले गिरावट आउने विभागले जानकारी दिएको छ ।

त्यसपछि अर्को प्रभावित क्षेत्र उद्योग भएको छ, औद्योगिक गतिविधिमा आएको संकुचनले गर्दा औद्योगिक क्षेत्रको मूल्य अभिवृद्धिमा २.२७ प्रतिशतले कमी आउने जनाइएको छ ।

यस्तै, निर्माण गतिविधिमा कमी आउँदो ०.३१ प्रतिशतले गिरावट आउने विभागले जनाएको छ भने खानी तथा उत्खनन क्षेत्रमा पनि ०.६९ प्रतिशतले गिरावट आउनेछ ।

कृषिको हिस्सा बढ्यो

गत आर्थिक वर्ष २०७५/७६ कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २६.९८ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा बढेर २७.०८ प्रतिशत हुन पुगेको जनाइएको छ ।

उद्योग र निर्माणसहित समेटिएको द्वितीयक क्षेत्रका हिस्सा अघिल्लो वर्षको १४.४७ प्रतिशतबाट घटेर  १३.७२ प्रतिशतमा झरेको छ भने सेवा क्षेत्रको हिस्सा ५७.७१ प्रतिशतबाट बढेर ५८.०८ प्रतिशत पुगेको छ ।

प्रतिव्यक्ति आय १०८५ डलर

विभागका अनुसार चालू वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आय झिनो वृद्धि प्रतिव्यक्ति आय  १ लाख २६ हजार १८ रूपैयाँ अर्थात १०८५ अमेरिकी डलर पुगेको विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय  १ लाख १८ हजार ६२३ रूपैयाँ अर्थात १०३९ अमेरिकी डलर थियो ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु