गृहपृष्ठ बिपीलाई बिर्सेको मजदुर दिवस

बिपीलाई बिर्सेको मजदुर दिवस

हुन त बिपीलाई सम्झिन कुनै दिन र अवसर नै पर्खिनुपर्ने त होइन । तर, मजदुर वर्गकै हकहित र अधिकार प्राप्तिका निम्ति नेपाल आमाको कोखबाट जन्मेको एक सच्चा सपुतलाई आजका दिनमा बिर्सिन पनि कहाँ सकिन्छ र ! उहाँको स्मृति दिवसका दिन आजको कांग्रेसले दुई‑चार थुङ्गा फूल अर्पण गर्दै शब्दकोषका केही सम्मानित शब्दमार्फत् ओठेभक्ति जप्नुबाहेक अरु के नै गर्न सकेको छ र !

सिंगो विश्वले आज मजदुर वर्गको उत्थान गर्दै श्रमिक दिवस मनाइरहँदा मेरो देशले भने मजदुर वर्गको अवसानलाई नै श्रमिक दिवस ठानिरहेको छ । अझै पनि मुलुकमा १०% ब्रत बस्छन् भने ९०% नागरिक भोकै बस्छन् । ब्रत बस्नु र भोकै बस्नु बीचको भिन्नता छुट्याउन नजान्ने मेरो देशका शासक र प्रशासक बिहानैदेखि मजदुर दिवसको शुभकामनामा व्यस्त जस्तै छन् ।

जबसम्म भोकै बसेको ९०% नागरिक ब्रत बस्ने हैसियतमा पुग्दैन भने मजदुर दिवसका नाउँमा ठूल्ठूला भाषण र आदर्शका गफहरुको कुनै औचित्य छैन ।

नेपालको सन्दर्भमा मजदुर वर्गको कुरा गर्ने हो भने जननायक बिपी कोइरालाले नेपालको इतिहासमा पहिलो पटक मजदुरहरुको प्रत्यक्ष सहभागितामा २००३ सालमा विराटनगरबाट सुरु गरिएको मजदुर हड्तालले पहिलो जनान्दोलनको रुप लिएको थियो । उक्त आन्दोलनले निकै प्रभावकारी जनजागरण पैदा गर्न सक्ने भएकाले तत्कालीन राणा शासकहरुले आन्दोलन मत्थर पार्न कोइरालालाई पक्राउ गरी २२ दिन हिँडाएर काठमाडौं ल्याएका थिए ।

भारत बसाइका क्रममा महात्मा गान्धीको साबरमतीदेखि दाण्डीसम्मको यात्राले पैदा गरेको राजनीतिक तरंगको महत्व बुझेका बिपीले उक्त २२ दिने यात्रा अवधिभर बाटोमा भेट्न आएका जनतामा आत्मबल र विद्रोही संस्कार जागृत गर्न कुनै कसर बाँकी राखेनन् ।

मैले थाहा पाएसम्म सायद यही आन्दोलन पहिलो आन्दोलन थियो । नेपाली कांग्रेसले आमनागरिक र मजदुरहरुको हकहितका निम्ति पहिलो पटक राणा शासकहरुलाई टक्कर दिँदै आफूलाई राष्ट्रिय राजनीतिमा होमेका थिए । यसरी मजदुरहरुको आवाज बनेर स्थापना भएको कांग्रेस आजका दिनसम्म आइपुग्दा कति सफल र कति असफल भयो भन्ने कुराको लेखाजोखा त इतिहासले गर्ला । तर, अहिलेका कांग्रेसजन र मजदुरहरु बीचको खाडल भने झन् झन् गहिरिँदै गएको देखिन्छ । १०१४ सालको ‘भद्र अवज्ञा’ आन्दोलनको दबाबकै कारण ०१५ सालको बालिग मताधिकारकारको आधारमा सम्पन्न भएको आमनिर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेको बिपी नेतृत्वको प्रथम जननिर्वाचित सरकारले मजदुरहरुका आधारभूत समस्याहरु सम्बोधन गर्दै गरिब, निमुखा र उत्पीडन वर्गको हकहितका निम्ति महत्वपूर्ण कदमहरु नउचालेको भने हुँदै होइन ।

निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदुर नीति, क्रान्तिकारी भूमि सुधार योजना, किसानहरुको अधिकार संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा तथा बिर्ता उन्मुलन र समाजवादी अर्थव्यवस्थाको थालनी गरेको सरकारले आम नेपाली र मजदुरवर्गका कल्याणकारी सपनाहरु साकार गर्न नपाउँदै जम्माजम्मी १७ महिना टिकेको बिपी नेतृत्वको सरकार २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रमार्फत प्रजातन्त्रको गला निमोठ्ने काममात्र नभै प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी बिपी कोइराला, गणेशमान सिंहलगायत कांग्रेसका शीर्षस्थ नेताहरुलाई सुन्दरीजल जेल चलान गरिएको थियो ।

भन्नलाई त आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । भन्न निकै सजिलो छ । तर, मलाई लाग्छ अझै पनि मजदुर वर्गको भविष्य त्यही सुन्दरीजल जेलमै बन्दी छ ! भौतिक रुपमा मजदुरवर्ग अहिले जेल बाहिर होला । तर, उसको आवाज अझै कुण्ठित छ र जेलबाट रिहाइ हुन सकेको छैन । त्यसैले त मलाई यसरी डायरीका पानाहरुमा घरीघरी कोर्न मन लाग्छ । नत्र त अनावश्यक चिजमा यति महत्वपूर्ण समयलाई बर्बाद गर्ने फुर्सद कहाँ थियो र मलाई ?

‘समाजवादी भोक’

भोकै बस्ने बानी परेर हजुर, यो पेटलाई भोक हुँदैन अचेल

गरिब मर्छ, समाचार त बन्छ, तर शोक हुँदैन अचेल

लुटिन देउ अझै, लुटिन कै निम्ति जन्मिएकाहरुलाई

लोकतन्त्र न हो, लुटेराका लागि त कुनै रोक हुँदैन अचेल

कोदो उमार्ने करेसामा हिंसाको खेती गरेर पो हो कि ?

सिन्दुर नपुछिएको शिर अनि, नरित्तिएको कोख हुँदैन अचेल

राज्य दोहन गर्न पल्केका सिंहदरबारका स्यालका निम्ति

‘राष्ट्रियता’ केवल नारा मात्र हुन्छ, सबथोक हुँदैन अचेल

भ्यु टावर अनि मोडर्न टाउन बन्दै गरेका मेरा सहरहरूमा

बालिका बलात्कृत नभएको, कुनै चोक हुँदैन अचेल

सिटामोलसमेत किन्ने पैसा छैन भन्ने थाहा हुँदाहुँदै

तर पनि गरिबलाई नसताउने यहाँ रोग हुँदैन अचेल ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु