गृहपृष्ठ ‘जलमार्ग र रेलमार्ग होइन, अस्पताल जाने सडक बनाऔँ’

‘जलमार्ग र रेलमार्ग होइन, अस्पताल जाने सडक बनाऔँ’

संसदीय समितिले पूर्वाधार विकास आयोजना प्रभाव र पहुँचमा नभई नीति र विधिका आधारमा छनोट गर्ने पद्धति बसाल्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले सीमित बजेटबाट असीमित नतिजा हासिल गर्नसक्ने सन्तुलित र चित्तबुझ्दो ढंगबाट विकास आयोजना छनोट गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनीहरुले मन्त्री र सांसद होइन, जनता खुसी हुने ढंगबाट बजेट विनियोजन हुनुपर्ने भन्दै त्यसका लागि आवश्यकता र समानताको पक्षलाई हेरिनुपर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आव २०७७/७८ को योजनाका सम्बन्धमा छलफल गर्न आयोजित उक्त बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका र बहुवर्षीय चालू आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाव दिए ।

विकासको मेरुदण्ड भनेको सडक नै भए पनि कोभिड‑१९ का कारण अघिल्ला वर्षका तुलनामा खुम्चेर बजेट ल्याउनुपर्ने भएकाले ‘आयोजना बैंक’ बनाएर आवश्यकता र औचित्य पुस्ट्याइँका आधारमा मात्र परियोजना छनोट गर्ने पद्धतिको विकास गर्न सदस्यहरुले सरकारको ध्यानाकर्षण गराए ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक पुर्‍याउन घोषणा गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन तथा उपलब्ध साधन, स्रोत र बजेटलाई सन्तुलित र समन्यायिक ढंगबाट वितरण गर्न उनीहरूले सुझाव दिए । सदस्य कमला रोकाले भनिन्, ‘फेरि पनि मन्त्रीका जिल्ला र निर्वाचन क्षेत्रमा दर्जनौँ योजना थुपार्ने काम नहोस् ।’

सांसद रङमति शाहीले चारवटा पुल नभएका कारण कर्णाली क्षेत्रका बिरामीलाई एम्बुलेन्स र बसमा राखेर अस्पताल पुर्‍याउन नसकिरहेको पक्षलाई बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई जलमार्ग र रेलमार्ग होइन, गाडी चढेर अस्पताल पुग्नसक्ने सडक बाटो चाहिएको छ ।’

सांसद आशाकुमारी विकले मुलुकको भूगोललाई गुगलमा हेरेर श्रमिक र न्यून आय भएका जनताका हितमा नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने बताइन् । सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विकास निर्माण कार्यमा समान सहभागितालाई सहयोग पुर्‍याउन सदस्यहरुसँग आग्रह गरे । उनले भने, ‘कोभिड १९ का कारण पूर्वाधार निर्माणमा ठूलो धक्का लागेको छ । तपार्इंहरुका सुझावका आधारमा राष्ट्रिय गौरव, रणनीतिक महत्व र बहुवर्षीय चालू आयोजनालाई प्राथमिकता राखेर छलफल भइरहेको छ ।’

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु