गृहपृष्ठ सुदूरपश्चिममा कोरोना परीक्षण अत्यन्त सुस्त

सुदूरपश्चिममा कोरोना परीक्षण अत्यन्त सुस्त

कोभिड- १९ परीक्षण सुस्त हुँदा सुदूरपश्चिममा जोखिम बढ्दै गएको छ । नयाँ प्रयोगशाला स्थापना गरिएसँगै सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला एक महिनादेखि बन्द छ । चालु रहेको प्रयोगशालामा पनि क्षमताभन्दा कम मात्र परीक्षण भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा धनगढी पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको मेसिन दैनिक २ सय ७० जनाको परीक्षण गर्नसक्ने क्षमता भए पनि पर्याप्त संख्यामा थ्रोट स्वाब संकलन हुन नसक्दा मंगलबार प्रदेशमा कुनै पनि परीक्षण हुन सकेन ।

पशु अन्वेषण प्रयोगशाला धनगढीका इन्चार्ज रमेश शाहीका अनुसार एक हप्तामा ९७ जनाको मात्रै परीक्षण भएको छ । अहिले दैनिक सरदर २० जनाको मात्रै परीक्षण भइरहेको उनले जानकारी दिए । सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भए पनि नमूना संकलन सुस्त हुँदा क्षमताअनुसार परीक्षण हुन नसकेको प्रयोगशाला विभागमा कार्यरत कर्मचारीहरुको भनाइ छ ।

स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार मापदण्डको आधारमा नमूना संकलन गरिएकाले परीक्षण केही कमी देखिएको हो । संघीय सरकारले कोरोना भाइरसको लक्षण भएका, पछिल्लो १४ दिनभित्र विदेशबाट आएका, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति र कोरोनाको लक्षण भएका स्वास्थ्यकर्मीको मात्रै स्वाब संकलन गर्न बनाएको मापदण्डअनुसार नै थ्रोट स्वाब संकलन गरिएको उनको भनाइ छ ।

सुदूरपश्चिममा पाँच जना संक्रमित भेटिएकामा चारजना निको भएर घर फर्किसकेका छन् । बाँकी एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । त्यस्तै सुदूरपश्चिममा अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण नहुँदा जोखिम बढेको छ ।

संक्रमितहरुको लगातार दुईपटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने र ७ देखि १० दिनको बिचमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड छ । तर सुदूरपश्चिममा पुनः परीक्षणका लागि वेवास्ता गरिएको छ । सेती प्रादेशिक अस्पतालका कोभिड– १९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले एक जनाको पुनः परीक्षण भएको र बाँकी तीन जनाको पनि पुनः परीक्षण गर्ने तयारी भइरहेको दावी गरे ।

परीक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरू अप्ठ्यारोमा परेका छन् । सबै क्वारेन्टाइनमा बसेकै ब्यक्तीको स्वाव परिक्षण नहुँदा प्रदेशमा कोरोनाको जोखिम हटेको छैन ।

प्रकाशित समय २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु