गृहपृष्ठ सर्वदलीय बैठकमा देउवाले भने‑ अतिक्रमण अस्वीकार्य छ, भारतीय सेना फिर्ता हुनुपर्छ

सर्वदलीय बैठकमा देउवाले भने‑ अतिक्रमण अस्वीकार्य छ, भारतीय सेना फिर्ता हुनुपर्छ

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमिका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले अतिक्रमण अस्वीकार्य भएकाले सरकारले उच्च कूटनीतिक पहल गरी फिर्ता लिनुपर्ने बताएको छ । सर्वदलीय बैठकमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार भएको बताए ।

‘महाकाली नदीपूर्वका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भूभाग नेपालका हुन्, यसबारे कांग्रेसले सदैव प्रस्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ,’ बैठकमा उनले भने, ‘यो नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्छ ।’

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रस्ट धारणा र गम्भीर असहमति प्रकट गरेको उनले पुनः दोहर्‍याए । ‘तर भारत र चीन दुई राष्ट्रबीचको त्यही सहमतिको परिणाममा आज लिपुलेक सडक निर्माण सम्पन्न भएको छ,’ बैठकमा उनले भने, ‘अतः नेपाल सरकारले दुवै राष्ट्रसँग यसबारे संवाद गर्नु पर्छ र प्रस्ट भन्नुपर्छ‑ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो, यस माथिको अतिक्रमण हामीलाई ठाडै अस्वीकार्य छ ।’

सन् २०१९ नोभेम्बरमा भारतले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूभाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै कांग्रेसले कडा प्रतिक्रिया जनाएको र प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा ‘भारतीय सेना रहेको कालापानीलगायतका भूमि नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भूभाग फिर्ता गर्न सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ’ भन्ने प्रस्ट धारणा साथ ‘त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने’ घोषणा गरेको देउवाले बताए ।

प्रकाशित समय १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु