गृहपृष्ठ कोभिड–१९ कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्म क्षति : एडीबी
कोभिड–१९ कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्म क्षति : एडीबी
दक्षिण एसियाको क्षति २ खर्ब १८ अर्ब डलरसम्म पुग्ने
तस्बिर साभारः एडीबी
एसियाली विकास बैंक (एडीबी)ले नोबल कोरोना भाइरस (कोभिड–१९) कारण विश्वव्यापी अर्थतन्त्रमा ५८ खर्बदेखि ८८ खर्ब अमेरिकी डलरसम्मको क्षति हुने नयाँ आँकलन सार्वजनिक गरेको छ । यो विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ६.४ प्रतिशतदेखि ९.७ प्रतिशत बराबर रहेको एडीबीले जनाएको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको ‘कोभिड १९ को सम्भावित आर्थिक प्रभावः अद्यावधिक मूल्यांकन’ प्रतिवेदनमा यदि यो संकट ३ महिनामै समाप्त भएमा एसिया तथा प्रशान्त क्षेत्रले १७ अर्ब अमेरिकी डलरको क्षति बेहोर्नु पर्ने (क्षेत्रीय जीडीपीको ६.२ प्रतिशत) तथा ६ महिनासम्म लम्बिएमा २५ खर्ब डलरको क्षति बेहोर्नु पर्ने प्रक्षेपण गरिएको छ, जुन क्षेत्रीय जीडीपीको ९.३ प्रतिशत हो भने विश्वव्यापी क्षतिको एक तिहाइ हो ।
दक्षिण एसियाले मात्र १ खर्ब ४२ अर्ब डलरदेखि २ खर्ब १८ अर्ब अमेरिकी डलरको क्षति बेहार्नु पर्ने बैंकको प्रतिवेदनमा उल्लेख छ । बैंकको स्थितिपत्रमा नेपालबारे छुट्टै उल्लेख नभए पनि भारत, बंगलादेश, पाकिस्तानसहितका देशहरूले अबलम्बन गरेका विभिन्न कडाइका कारण दक्षिण एसियालले यो क्षति बेहोर्नु पर्ने उल्लेख छ ।
बैंकले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्नका लागि सीमा क्षेत्र बन्द गरिएको, यात्रा प्रतिबन्ध र लकडाउनका कारण विश्वव्यापी व्यापारमा १७ खर्बदेखि २६ खर्ब अमेरिकी डलरसम्म गिरावट आउने जनाइएको छ ।
यस्तै, यही कारणले विश्वव्यापी रोजगारीमा १५ करोड ८० लाखदेखि २४ करोेड २० लाखसम्म रोजगारी कटौती हुने, यसमध्ये एसिया प्रशान्त क्षेत्रको मात्रै कुल रोजगारीमध्ये ७० प्रतिशतले कटौती हुने आकलन गरिएको छ ।
रोजगारी कटौतीसहितका कारणले विश्वव्यापी रुपमा श्रम आयमा १२ खर्बदेखि १८ खर्ब अमेरिकी डलरसम्मले कमी आउने बैंकको प्रतिवेदनमा उल्लेख छ, यसमध्ये ३० प्रतिशत एसिया–प्रसान्त क्षेत्रमा कटौती हुनेछ । रकमगत आधारमा यस क्षेत्रका श्रम आयमा ३ खर्ब ५९ अर्बदेखि ५५ अर्ब अमेरिकी डलरसम्मको कमी आउने बैंकले जनाएको छ ।
विश्वभरिका सरकारहरूले महामारीसँग जुधनका लागि बजेटरी तथा मौद्रिक सहजरीकरण, स्वास्थ्य खर्चमा वृद्धि, आय तथा राजस्वमा हुने कमीलाई पूर्ति गर्नका लागि प्रत्यक्ष सहयोगजस्ता उपायहरू अबलम्बन गरिरहेको बैंकले उल्लेख गरेको छ । यी प्रयासहरूका कारण विश्वव्यापी आर्थिक क्षतिमा ३० देखि ४० प्रतिशतसम्म कमी ल्याउन सहयोग पुग्ने जनाइएको छ, यसले ४१ खर्बदेखि ५४ खर्ब अमेरिकी डलरसम्मले कमी आउने बैंकको निष्कर्ष छ ।
प्रकाशित समय १०:०६ बजे

















