गृहपृष्ठ कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि छुट्टै वार्ड

कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि छुट्टै वार्ड

कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ९४ लाख रुपैयाँको लागतमा वडा प्रहरी कार्यालयनजिक ५० शैय्याको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले नवनिर्मित वार्डलाई सोमबार सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले सेती अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ । अब संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेले बताए ।

वार्डको अभावले उपचारमा समस्या हुनुका साथै अन्य बिरामीमा समेत संक्रमण फैलने जोखिम थियो । अब छुट्टै भवनमा उपचार गर्न थालेपछि सहज हुने डा. पाण्डेले बताए । सेती अस्पतालमा आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद बिरामीलाई नयाँ वार्डमा सारिने उनले बताए ।

सेती अस्पतालमा हाल पाँच जना कोरोना संक्रमित र दुई जना शंकास्पद बिरामीको उपचार भइरहेको छ । प्रिफेबको प्रयोग गरेर एक महिनाको अवधिमा आइसोलेसन वार्ड निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए । प्रदेशमा कोरोनाको जोखिम बढ्दै गएकाले छुट्टै अस्पताल बनाउने योजनाअनुसार कैलाली र कञ्चनपुरमा कोरोना अस्पताल बनाउन सुरु गरिएको मन्त्री सुवेदीले बताए ।

धनगढीमा सुरु गरिएको अस्पतालले अब उपचार सुरु गर्ने छ भने महेन्द्रनगरमा निर्माण सम्पन्न हुन सकेको छैन । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नवनिर्मित भवनबाट स्वास्थ्यकर्मीलाई आवश्यक सेवा दिने मन्त्री सुवेदीले बताए ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु