गृहपृष्ठ एडिबीद्वारा नेपाललाई कोभिड-१९ सँग जुध्न ३० अर्ब ऋण स्वीकृत
एडिबीद्वारा नेपाललाई कोभिड-१९ सँग जुध्न ३० अर्ब ऋण स्वीकृत
एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई कोरोनाभाइरस महामारी (कोभिड-१९) सँग जुध्नका लागि करिब ३० अर्ब २५ करोड रुपैयाँ (२५ करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।
यो ऋण सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ पार्ने उपायका लागि र गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक र सामाजिक प्रभावहरुलाई कम गर्नका लागि उपयोग हुने बैंकले जनाएको छ ।
‘एडिबी यस महत्वपूर्ण समयमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ,’ एडीबीका अध्यक्ष मात्सुगु असकावाले भने, ‘यस सहुलियतपूर्ण ऋणबाट सरकारले यसका रोकथामका उपायहरूलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गको लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक सुधारको चरण तय गर्न सक्नेछ।’
कोभिड १९ महामारी अहिले गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बनेको र यसले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने उल्लेख गर्दै उनले यसको प्रभाव विस्तार रोक्न र समन्वयपूर्ण तरिकाले एडीबीले सरकार र अन्य विकास साझेदारहरूसँग मिलेर काम गर्ने बताए ।
एडिबीको यो सहयोग ‘एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सहयोग’ (केरेस)अन्तर्गत प्रदान गर्न लागिएको हो । यस कार्यक्रमले सरकारलाई प्रतिदिन कम्तिमा ३ हजार परीक्षणका लागि आफ्नो कोरोना भाइरस परीक्षण क्षामता बढाउन तथा सात वटै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तिमा २ लाख मानिसका लागि क्वारेन्टिन सुविधा स्थापना गर्न सरकारलाई सहयोग पुर्याउने बैंकले जानकारी दिएको छ ।
यसका साथै बैंकका सहयोगबाट सरकारले गरिब र कमजोर घरपरिवारका लागि खाद्यान्न सहयोग वितरण गर्न, बेरोजगार गरिबहरू, विशे गरी महिला र विदेशबाट फर्केका प्रवासी कामदारहरूलाई रोजगारी सहयोगको व्यवस्था गर्न सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न सरकारलाई सहयोग गर्ने जनाइको छ।
यसैगरी संकटबाट अति प्रभावित लघु, साना,र मझाैला उद्यमहरूमा अनुदानपूर्ण ऋण दिइने, जसमा कम्तिमा ३० प्रतिशत महिला नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएका समूहबाट आबद्ध भएका हुनुपर्ने सर्त राखिएको छ ।
प्रकाशित समय १६:३७ बजे

















